चुरे नास भए तराई नास हुन्छ ः पर्यावरण अभियन्ता शर्मा



विजय साह
ढल्केवर (धनुषा)
चुरे दिवसको अवसरमा धनुषाको पुष्पवलपुरस्थित भाटिघारी सामुदायिक वनमा वृक्षा रोपण गरिएको छ ।


राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको स्थापना दिवसको अवसरमा चुरे क्षेत्रमा पर्ने भाटिघारी सामुदायिक वन क्षेत्रको ४ हेक्टर क्षेत्रमा १० हजार विभिन्न उन्नत जातको बिरुवा रोपण गरिएको हो ।

असार २ गते राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले आफ्नो स्थापना दिवसको अवसरमा ‘चुरे दिवस’ मनाउँदै आएको छ । यसै क्रममा मंगलबार ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ मुल नाराका साथ चुरे दिवसको छैठौ बार्षिक समारोहको आयोजना गरी भाटीघारी वन क्षेत्रमा वृक्षारोपण गरेका हुन् ।

बार्षिक समारोह तथा वृक्षारोपण कार्यक्रमका प्रमुख अथिति प्रदेश २ का प्राकृति श्रोत साधन समितिका सभापति रामचन्द्र मण्डलले रुखबिरुवा र अक्सिजन भएकै कारण पृथ्वीमा मानव सम्यता भएको बताए । पृथ्वीमा प्राणी हुनुको मुख्य कारण अक्सिजन नै हो । र अक्सिजनको मुख्य श्रोत रुखबिरुवा भएकोले यसको महत्व बुझेर संरक्षण आवश्यक रहेको बताउँदै सरकारले पनि समुदायलाई अगाडि सारेर प्रकृति संरक्षणमा लागेको जनाए ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति जनकपुर आयोजनाका प्रमुख शिव पोखरेलले चुरे क्षेत्रलाई कसरी दिगो रूपमा संरक्षण गर्न सकिन्छ भन्ने विषयलाई गम्भीर रूपमा लिएर कार्यक्रम गर्दै आएको बताए । उनले चुरे संरक्षणका सवालमा वर्षैभरि कार्यक्रम सञ्चालन गरिरहेको जनाए ।

वन प्राविधिक समाजका महासचिव तथा पर्यावरण अभियन्ता सुरश शर्माले चुरे पहाडको बनोट कमलो भएकोले अलिकति पनि लापरवाही भए पर्यावरणमा ठूलो क्षति पुग्ने बताए । नेपालको परिपेक्ष्यमा पानि रिचार्ज गर्ने ठाउ हो चुरे क्षेत्र, ‘जैविक विविधताको धनी ठाउँ हो चुरे क्षेत्र’, ‘चुरे नास भए तराई नास हुन्छ’, ‘त्यसैले यसको संरक्षण र सम्द्र्धन अभियानमा सबैको साथ आवश्यक भएको महासचिव शर्माले जनाए थिए ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाई जनकपुरको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश महासंघ प्रदेश २ को संयोजन तथा व्यवस्थापनमा भएको वृक्षारोपण कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्मा, डिभिजन वन कार्यालय धनुषाका अधिकृत अशोक झा, सञ्चारकर्मी गोपाल बरालले मनतव्य राखेका थिए भने भाटीघारी सामुदायिक वनका अध्यक्ष श्याम गोले, वन कर्मचारी, उपभोक्तालगायत स्थानीयबासीको सहभागिता थियो ।

महाभारत पर्वत शृंखलाको दक्षिणी सिमानाबाट तराई मैदानको उत्तरी सिमानाबीचको होचो डाँडा र पर्वत शृंखलालाई चुरे भनिन्छ । नेपालको कूल भूभागको १२ दशमलव ७८ प्रतिशत चुरे क्षेत्रमा पर्छ । पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू चुरे क्षेत्र भई तराईतर्फ बग्ने भएकाले प्राकृतिक रूपमा यो क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ । पछिल्लो समय चुरेको वन विनाश, ढुंगागिट्टी जस्ता नदीजन्य पदार्थको उत्खनन र सडक निर्माण जस्ता कामले चुरे क्षेत्रमा जोखिम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button