चुरे संक्षरणको नाउँमा खोलामा पोखरी, पैसाको सत्यानास



विजय साह


ढल्केवर (धनुषा)
राष्ट्रपति चुरे संरक्षण समितिले धनुषाको बाहुनमारास्थित रातु खोला किनारमा निर्माण गरेको पोखरी उपयुक्त ठाउँमा नभएको भन्दै स्थानीय बासीले बिरोध जनाएका छन् ।

बाहुनमारा । धनुषाको मिथिला नगरपालिका वडा नं. ११ मा पर्दछ । सो ठाउँ भएर बग्ने रातु खोलाको बगर नजिकै राष्ट्रपति चुरे संरक्षण समितिले १० कठ्ठा क्षेत्रफलमा एक महिनाअघि ‘भूमिगत जल उपयोग’ शिर्षकमा पोखरी निर्माण गरेको छ । पोखरी उपयुक्त ठाउँमा नभएको र आर्थिक हिनामिनाको आशंकामा स्थानीय गाउँलेहरुले बिरोध जनाएका हुन् ।

स्थानीय बासिन्दा प्रेम कार्कीले राष्ट्रपति चुरे संरक्षण समितिद्वारा निर्माण गरिएको पोखरी रातु खोला र चितुवा खोल्सीको उच्च जोखिममा रहेको बताए । ति खोलामा आउने एउटै बाढीले पोखरी कटान गरेर लान्छ । बगरमा पोखरी टिक्नै सक्दैन् उनले भने ।

दुइ खोलाको बीचमा पोखरी निर्माण गरेको छ । ‘सरकारी पैसाको सत्यानास पार्ने उद्देश्यमा मात्र देखियो’, स्थानीय बासी कार्कीले आरोप लगाए । उनले गाउँलेका लागि त्यो पोखरी प्रयोगमा नआउने बताउँदै चुरे संरक्षणको नाम गलत प्रयोग गरिएको जनाए । पोखरी निर्माणका लागि स्थानीय स्तरमा गठन गरिएको समिति पनि भेला नगरी आफ्ना नजिकका मान्छे राखरे कार्य गरेको आरोप कार्कीको छ ।

मिनपा वडा नं. ११ तुलसीका वडा अध्यक्ष बेद बहादुर कार्कीले पनि राष्ट्रपति चुरे संरक्षण समितिले निर्माण गरेको पोखरी उपयुक्त ठाउँमा नभएको जिकिर गरे । उनले पनि अनावश्यक ठाउँमा पोखरी निर्माण गरेको आरोप लगाए । ‘अहिलेको ठाउँदेखि अलि मास्तिर खन्देको भए सिंचाइलगायतको काममा पानीको प्रयोग हुन्थ्यो’,‘वडा अध्यक्ष कार्कीले भने ।’

यता चुरे संरक्षण समितिका कार्यालय प्रमुख शिव पोखरलले पोखरी निर्माण गरिएको स्थान नजिकै आर्यघाट भएको र दाहसंस्कारमा आउने मानिसलाई चोखिन सुविधा पुगोस् भन्ने उद्देश्यले सो ठाउँमा पोखरी निर्माण गरिएको बताए । पोखरी निर्माणका लागि त्यहाँ गठन गरिएको समितिको सल्लाहअनुसार नै सो ठाउँमा पोखरी खनिएको छ । पोखरी निर्माण र संरक्षण व्यवस्थापनका लागि झण्डै १३ लाख बजेट छुट्टयाइएको छ । जसमध्ये नौ लाख पोखरी निर्माणमा खर्च भएको र बाँकी रहेको रकमले संरक्षण कार्यमा खर्चिने प्रमुख पोखरेलले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button