ढल्केवरमा बर्षा अगावै डुबानको पिरलो



विजय साह
ढल्केवर (धनुषा)
धनुषाको ढल्केवरस्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने पानी बग्ने कल्भर्ट स्थायी रुपमै जाम गरिएको छ । ढल्केवरको पूर्वचौकस्थित रहेको कल्भर्ट सडकदेखि दक्षिणका बासिन्दाले स्थायी रुपमै जाम गरिदिएका हुन् । उनीहरुले बर्षायाममा कल्भर्ट हुँदै आउने पानीको भेलले घरवार नै डुबाउने गरेकोले कल्भर्ट जाम गरेको बताए ।


कल्भर्ट जाम भएपछि सडकदेखि उत्तरका बासिन्दा बर्षायाममा बस्ती डुबान पर्ने चिन्ताले पिरोलिएका छन् । उनीहरुले बर्षायामको पानी व्यवस्थापन र तत्काल कल्भर्ट खुलाउन मिथिला नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष भक्त बहादुर बलम्पाकी, सडक डिभिजनको शाखा कार्यालय ढल्केवर र इलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराएको छ ।

सडक ऐन अनुसार सडकको बीच भागबाट २५ मीटरसम्म व्यक्ति वा सामुदायिक लगानीमा अस्थायी वा स्थायी संरचना निर्माण गर्न नपाउने तथा प्राकृतिरुपमा पर्ने बर्षाको पानी बग्ने कल्भर्ट र नाला जस्ता पुल पुलेसाहरु थुनछेक गर्न नपाउने प्रावधान छ ।

सडकदेखि उत्तरपट्टीका सयौं घरवार बर्षौदेखि बर्षायाममा डुबानमा पर्दै आएको छ । त्यहाँका बासिन्दा बिहिबार बिहान पानी निकासको स्थायी समाधानका लागि वडा अध्यक्ष भक्त बहादुर बलम्पाकीलाई भेट गरेका थिए । भेटको क्रममा २–३ दिन भित्र पानी निकासको समाधान खोजिने आश्वासन वडा अध्यक्ष बलम्पाकीले दिएको एक डुबान पीडित बिशेश्वरप्रसाद साहले बताए ।

सडकको उत्तरपट्टी कतै–कतै नाला निर्माण गरिएको भएपनि पानी निकास नहुँदा उत्तरतिरका बासिन्दा बर्षौदेखि डुबानमा पर्दै आएको छ । चौकदेखि झण्डै एक किलो मीटर टाढाँ रहेको बसही खोलासम्म नाला निर्माण र नियमित सफाइको व्यवस्था गरे मात्र स्थायी रुपमा डुबानबाट मुक्ति पाउने अर्का डुबान पीडित सुदर्शन शर्माले जानकारी दिए ।

अहिले सामान्य बर्षा हुँदा पनि घरभित्रै पानी हुल्छ । ‘यहाँ बर्षौदेखि यस्तै हालत छ’, ‘कसैले हाम्रो सुन्दैन्’, ‘बर्षौदेखि सम्बन्धित निकायमा गुहार लगाउँदै आएका छौ ।’ तर समस्या ज्यूँका त्यू छ – डुबान पीडित शर्माले दुखेसो पोखे । उनले भने यसपाली त हामी डुब्छौं–डुब्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button