लकडाउनमा विपन्नका लागि सहकारी सहारा बन्ने



विजय साह
ढल्केवर (धनुषा) लकडाउनको मारमा परेर औषधी उपचार र हातमुख जोर्न समस्या भएकालाई उद्दार गर्न धनुषाको मिथिला नगरपालिका ढल्केवरका सहकारीहरु मिलेर विपत् व्यवस्थापन राहत कोष स्थापना गर्न समिति गठन गरेको छ ।


लकडाउनकोे यस अवधिमा दैनिक ज्यालादारी गरी हातमुख जोर्न समस्या भएका तथा स्वास्थ्य अवस्था बिग्रेर औषधी उपचारमा समस्या परेकाहरुलाई आर्थिक सहयोग गर्ने उदेश्यले ढल्केवरका सहकारीहरु मिलेर विपत् व्यवस्थापन राहतकोष स्थापना समिति गठन गरेका हुन् ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र न्युनिकरण गर्न सरकारले गएको एघार गतेदेखि आउँदो अठार गतेसम्मलाई नागरिकलाई घरभित्रै बस्न लकडाउन गरेको छ ।

आइतबार ढल्केवरमा सहकारी प्रतिनिधिहरुको बसेको बैठकले प्रत्येक सहकारीले ११ हजारका दरले राहत स्थापना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । समितिमा जम्मा १४ वटा सहकारी आवद्ध भएका छन् ।

समितिका सदस्य नारायणप्रसाद बास्तोलाले लकडाउनले गर्दा जोखिममा परेकाहरुले आफु र समितिका कुनै पनि सदस्यलाई मिथिला नगरपालिकाभित्रका बासिन्दामध्ये विपन्न परिवारले औषधी उपचार खाद्यन्यका लागि सम्पर्क गर्न आह्वान गरे ।
विपत् व्यवस्थापन राहत कोष समितिको संयोजकमा राजलाल महतो, नारायण बास्तोला, श्रीराम यादव, डोरबहादुर खड्का र पवन गुप्ता सदस्य रहका छन् ।

समितिका अध्यक्ष राजलाल महतोले सहकारीको समाजिक दायित्वअन्र्गत यो राहत कोषको स्थापना गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button