मिनपाको प्रत्येक नागरिकलाई मास्क र साबुन वितरण कार्य सुरु



विजय साह
ढल्केवर (धनुषा) धनुषाको मिथिला नगरपालिकाले नगरभित्रका प्रत्येक नागरिकलाई मास्क र एक घरलाई एउटा साबुन वितरण कार्य सुरु गरेको छ ।


कोरोना (कोभिड–१९) संक्रमणलाई नियन्त्रण र न्यूनिकरण गर्न मिनपाको एघार वटै वडाको प्रत्येक जनतालाई १ वटा मास्क र एक घरलाई एउटा हात धुने साबुन वितरण कार्य थालिएको हो ।

बिहिबारबाट वितरण गर्न थालिएको मास्क र साबुन प्रत्येक वडाको केही भागमा वितरण गरिएको छ । बाँकी रहेका ठाउँमा निरन्तरण वितरण गर्ने मिनपाका उपप्रमुख तारा लामा बस्नेतले बताए । अहिलेको परिवेशलाई ध्यानमा राख्दै सिमिति सहयोगीको सहयोगमा वडा अध्यक्ष स्वय्म घर–घरमै गएर मास्क र साबुन वितरण कार्य भइरहेको उपप्रमख बस्नेतले जनाइन् ।

यसैगरी मिनपा वडा नं. ७ का वडा अध्यक्ष युवराज उप्रेतिले एक जना बृद्धलाई मास्क पहिराएर मास्क र साबुन वितरण कार्यको सुरुवात गरेका थिए । वडा अध्यक्ष उप्रेतिले विश्व व्यापी रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र न्यूनिकरण गर्नका लागि मास्क र साबुन वितरण गरेको बताए ।

अध्यक्ष उप्रेतिले वडा नं. ७ मा झण्डै ७ सय घरधुरी रहेको र वडाका सम्पूर्ण बासीलाई घर–घरमै गएर मास्क र हातधुने साबुन वितरण कार्य सुरु गरेको जनाए ।

अहिले सरकारले कोरोना संक्रमणलाई नियन्त्रण र न्यूनिकरणका लागि लकडाउनको अवस्था रहेको र एकैठाउँबाट वितरण गर्दा संक्रमणको जोखिम झण बढ्न सक्ने सम्भावनालाई मध्य नजर गर्दै आफै घर–घरमै गएर मास्क र साबुन वितरण गरिरहेको जनाए ।
मास्क र साबुन वितरणसँगै वडाबासीलाई कोरोना संक्रमणबाट बच्ने उपायका बारेमा जानकारी समेत गराउने कार्य गरेको अध्यक्ष उप्रेतिले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button