दिलिप हत्या प्रकरण ः प्रदर्शनकारीले सडकमै गरे कोणसभा



विजयकुमार साह
ढल्केवर (धनुषा) विभत्सव तरिकाले हत्या गरिएका पर्यावरण अभियन्ता दिलिप महतोले न्याय पाउनुपर्ने माग गर्दै धनुषाको ढल्केवरमा प्रदर्शन गरिएको छ । दिलिपको टिपरले किचेर विभत्सव तरिकाले हत्या गरिएको थियो ।


चुरे तथा वन जङ्गल संरक्षण अभियानले तय गरेको पूर्व निर्धारित कार्यक्रमअनुसार विभिन्न माग राख्दै ढल्केवरमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरुले दिलिप महतोलाई प्रथम राष्ट्रिय पर्यावरण शहिद घोषणा, हत्या अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन, पिडित परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था, दोषीलाई कडा कारबाही, चुरे तथा वनजङ्गल सुरक्षित हुनुपर्ने माग गरेका थिए ।

प्रदर्शनका सहभागिहरुले ढल्केवरचौकको परिक्रमा गरि पश्चिम चौकस्थित रहेको तरकारी बजार अगाडिको पूर्व–पश्चिम राजमार्गमै कोणसभा गरेको थियो । प्रदर्शनकारीले सडकमै कोणसभा गरेपछि करिब एक घण्टा सवारीसाधन अबरुद्ध भएको थियो ।

कोणसभामामा समाजिक अभियन्ता सरोज राय, पिछडावर्ग समाज (ओबिसी)को केन्द्रिय अध्यक्ष रामकुमार महतो, तराई मधेस राष्ट्रिय परिषदकी सदस्य गुञ्जा राय, तराई मधेस चुरे संरक्षण अभियानका अध्यक्ष सुनिल यादवलगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।

मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरका रामजीवन महतोको २४ बर्षिय छोरा ओमप्रकाश महतो भन्ने दिलिपलाई गएको पुष २५ गते शुक्रबार रडले घोचेर हत्या गरी टिपरले किचेको थियो । दिलिपको हत्या अभियोगमा हालसम्म ६ जनालाई प्रहरीले पक्राउ गरी कानुनी प्रकृयालाई अगाडि बढाइएको छ भने हत्याकै दिनदेखि देशभर विरोध प्रदर्शन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button