दिलिप हत्या प्रकरण ः सुक्ष्म अनुसन्धानका लागि ७२ घण्टाको अल्टिमेटम

मेरो प्रदेश सम्वाददाता
ढल्केवर (धनुषा) पर्यावरण अभियन्ता दिलिप महतोको हत्या सुक्ष्म अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समति गठनको माग राख्दै पिछडावर्ग समाजले ७२ घण्टाको अल्टिमेटम दिएको छ ।
पिछडावर्ग समाजका केन्द्रिय अध्यक्ष राम कुमार महतोले बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख प्रदिप कणेललाई बुझाइएको ध्यानाकर्षण पत्रमा दिलिप हत्याको उच्चस्तरीय छानबिन टोली गठन गर्न ७२ घण्टाको अल्टिमेटम दिएको हो ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरका २४ बर्षिय दिलिप भन्ने ओमप्रकाश महतोलाई षडयन्त्रपूर्वक हत्या गरिएको घटनाप्रति हालसम्म भएको अनुसन्धानले पिडित परिवार र आम नागरिक सन्तुष्ट नरहेको जिप्रकामा बुझाएको ध्यानाकर्षण पत्रमा जनाइएको छ ।
पत्रमा घटनाको सुक्ष्म अनुसन्धानका लागि पिडित परिवारका प्रतिनिधित्व समावेश हुने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । यदि उक्त समयभित्र उच्चस्तरीय छानबिन समिति गठन नभए शसक्त आन्दोलनमा उत्रन बाध्य हुने र सोबाट पर्ने असरको सम्पूर्ण जिम्मेवार राज्य स्वयम् हुने पिछडावर्गका केन्द्रिय अध्यक्ष महतोद्वारा हस्ताक्षरित ध्यानाकार्षण पत्र उल्लेख गरिएको छ ।