हावाबाट बिजुली बत्ती घरघरमा बल्न थालेपछि स्थानीय खुसी



पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको एक करोड ८० लाख रुपैयाँ र गाउँपालिकाको ४२ लाख १३ हजार आठ सय रुपैयाँको लागतमा हावाबाट बिजुली निकालिएको हो ।


हावाबाट १५ किलोवाट र वायु तथा सौर्य ऊर्जा हाइब्रिड प्रणलीमार्फत १० किलोवाट गरी २५ किलोवाट क्षमताको बिजुली निकालिएको उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारी मगरले जानकारी दिए । करीब साढे दुई वर्षअघिदेखि सुरु भएको आयोजना हाल सम्पन्न भएर घरघरमा बिजुली बत्ती बल्न थालेपछि यहाँका स्थानीय खुसी भएका छन् ।

गाउँपालिकाको झ्याल्टुंग मौलाथर, रुप्सेभन्ज्याङ, काफल, गाउँपालिकाको कार्यालय, वडा कार्यालय, प्रहरी चौकी, गौरीशंकर मावि, मित्याल आधारभूत विद्यालय र मौलादेवी आधारभूत विद्यालयमा बिजुली बत्ती उपयोग भएको छ ।

विद्यालयका कामकाज गर्न विद्युत् सेवा पुगेपछि सजिलो भएको गौरीशंकर माविका प्रधानाध्यापक केशबहादुर सुनारी बताए । कृष्ण ग्रिल एण्ड इञ्जिनीयरिङ वर्क प्रालि विराटनगरमार्फत यहाँ विद्युत् उत्पादन गरिएको हो । उनका अनुसार यस आयोजनाबाट यहाँका करीब आठ सय जनसंख्या लाभान्वित हुनेछन् । बिहान ४ बजेदेखि ७ बजेसम्म र १० बजेदेखि राति ११ बजेसम्म विद्युत् लाइन सञ्चालन गरिएको छ ।

मित्यालको रुक्सेभन्ज्याङ डाँडामा दुई पंग्रा घुमाएर विद्युत् सेवा दिइएको छ । यसअघि निस्दी गाउँपालिकाको एउटा वडामा हावाबाट निकालिएको बिजुली प्रयोगमा ल्याइएको थियो । थप सेवा विस्तार गर्न दोस्रोपटक बिजुली उत्पादन गरी स्थानीयवासीलाई सुविधा दिइएको छ ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button