‘ड्रोन’ उडाउँदै जनता मा वि का विद्यार्थी



गोपालप्रसाद बराल
महोत्तरी
टिफिन हुँदा होस् कि कुनै घण्टी ‘लिजर’ हुँदा होस, महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका छात्रछात्रा चउरमा उफ्रिएका देखिँदैनन्। टिफिनको घण्टी बज्नासाथ आपूm आबद्ध क्लबको प्रयोगशालामा छात्रछात्रा पुग्छन् र प्रयोगात्मक अभ्यासमा तल्लीन हुन्छन । बाल कक्षादेखि १२ कक्षासम्म अध्ययन हुने यो सामुदायिक विद्यालयमा प्राविधिक धारका पशुविज्ञान र कृषि विज्ञान संकायको ‘डिप्लोमा’ तहको पठनपाठन पनि हुँदै आएको छ । विद्यालयका विद्यार्थी आफ्नो अध्ययनको विषय र अभिरुचिअनुसार भेटेरिनरी, विज्ञान तथा प्रविधि, कला–साहित्य, कृषि विज्ञान र जनता तेक्वान्दो एकेडेमी क्लबहरूमा आबद्ध छन्। सबै क्लबका छुट्टाछुट्टै प्रयोगशाला छन्। एकछिन पढाइको घण्टीबाट अवकाश हुनासाथ विद्यार्थी प्रयोगशालामा अभ्यास गर्न थाल्छन्। भर्खरै कक्षा १२ का विज्ञान तथा प्रविधि क्लबमा आबद्ध छ जना छात्रले ‘ड्रोन’ (चालकरहित विमान) को परीक्षण उडान सफलताका साथ सम्पन्न गरेका छन्। पुस संक्रान्तिका दिन सार्वजनिक समारोहबीच ‘ड्रोन’ उडाएका छात्रहरूले यसले १५ किलोग्रामसम्मको वजन बोकेर ५० मिटर माथिसम्म उड्ने जानकारी पनि दिएका थिए। ठाउँ विशेषको अवलोकन गरेर तस्बीर लिन सक्ने र कृषि कार्यमा पानी खिचेर सिँचाइ प्रयोजनका लागि निश्चित ठाउँमा र्पुयाइने परिकल्पनासमेत गरेर ‘ड्रोन’ बनाइएको क्लबका छात्र सुजन कालिकोटेको भनाइ छ। यो ‘ड्रोन’ छात्रहरू सुजन कालिकोटे, शिशिर भण्डारी, रोजन शाशंकर, दृश्य खनाल, राजकमल चौधरी र ऋषिराज सिंहले तयार गरेको हो। कक्षा १२ का अतिरिक्त विज्ञान तथा प्रविधि क्लबमा आबद्ध कक्षा ८, ९ र १० का छात्रछात्राले प्रयोगशालामै स्थानीय कच्चा पदार्थ प्रयोग गरेर हात धुने साबुन तयार गरेका छन्। अमला, निम, क्षार र खाने तेलसहितका आफ्नै ठाउँमा उपलब्ध कच्चा पदार्थबाट बनाइएको साबुन नै विद्यालय परिवारले प्रयोग गर्ने गरेको छ। यसबाहेक यस क्लबमा आबद्ध विद्यार्थी भ्याकुम क्लिनर, हाइड्रोलिक लिफ्ट, रुम हिटर, केबलकार, लाइफाइ (प्रकाशबाट ध्वनी तरङ्ग व्यवस्थित गर्ने) र टाइम बमसम्मको परिकल्पनामा आधारित अभ्यास गरिरहेका छन्। त्यसैगरी कला–साहित्य क्लबमा आबद्ध छात्रछात्राले मिथिला कला, घर व्यवस्थापन र झरनालगायतका प्राकृतिक सम्पदाका सजीव चित्र उतारेका छन्। विद्यालयका कृषि विज्ञान र भेटेरेनरी क्लबमा आबद्ध छात्रछात्राले वैज्ञानिक माछा फारम, पोल्ट्री फार्म (कुखुरापालन) र पशुपालनभित्रको गोठ व्यवस्थापनबारे प्रयोगात्मक अभ्यास गरिरहेका हुन्छन्। सामुदायिक विद्यालय भन्नासाथ ‘त्यहाँ के पढाइ हुन्छ र रु’ भन्ने आम धारणा बन्ने गरे पनि जनता मावि गौरीडाँडाले व्यवस्थापकीय चाँजो र समर्पण भए उत्कृष्ठ पठनपाठन हुन सक्छ भन्ने उदाहरण दिएको यस भेगका शिक्षाविद् बताउँछन्। आफ्ना नानीहरुको अध्ययनप्रतिको अभिरुचि र नयाँ–नयाँ प्रविधिको अभ्यासमा व्यस्त हुने बानीले यहाँका अभिभावक दंग छन्। ’होइन, साँच्चिकै पो उडाए त’ विद्यार्थीले ‘ड्रोन’ उडाउँदाका प्रत्यक्षदर्शी स्थानीय अभिभावक बर्दिवास १ का चन्द्रबहादुर कालिकोटेले भने, ’वातावरण पाए त यतैका (गाउँघरका) विद्यालयका विद्यार्थीले पनि ठूला सफलता पाउने रहेछन्।’ नगरपालिका भनिए पनि ग्रामीण परिवेशभित्रको यो विद्यालयले प्राप्त गरेको उपलब्धि महोत्तरी जिल्ला भित्रकै लागि अनुकरणीय बनेको आम अभिभावक र यस भेगका शिक्षाविद् बताउँछन्। अभिभावकको नियमित अनुगमन र जिज्ञासा, विद्यालय व्यवस्थापन समितिको तालिकाभित्रको काम, शिक्षकको सिकाइ पद्धतिप्रतिको समर्पण र तदनुरुपको क्रियाशीलता र विद्यालयमा अनुगमनमा आउने विज्ञका सुझाव नै आफ्नो विद्यालयको सफलताको रहस्य रहेको प्रधानाध्यापक दीपक बरालले बताए । विद्यालयले विद्यार्थीको नियमित उपस्थिति र उनीहरूको सिकाइसम्बन्धी प्रगतिबारे अभिभावकसँग सिधा सम्पर्क स्थापित गर्न ‘फोनइन’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमबाट विद्यालयले कुनै विद्यार्थी अनुपस्थित हुनासाथ अभिभावकलाई फोन गरेर सोधखोज गर्ने र विद्यार्थीको प्रगति विवरण सुनाउने गरिएको छ। त्यसैगरी विद्यालयको सेवा क्षेत्रमा अभिभावकका आमालाई संगठित गरेर विद्यालय आमा समूह गठन गरिएको छ। घरमा हुँदा विद्यार्थीलाई गृहकार्य गर्न, घरव्यवहारका काममा सरिक गराउन र पढाइसम्बन्धी उत्प्रेरणा जगाउने काम आमा समूहले गर्ने गरेको विद्यालयका शिक्षक नेत्र रम्तेलले बताए। विसं २०३१ पुस १ गते गौरीडाँडाका केही उत्साही शिक्षाप्रेमीले सानो छाप्रोमा पठनपाठन शुरु गराएको यो विद्यालय अहिले जिल्लाकै साधन सम्पन्न मानिन्छ। विद्यालयमा भर्नाका लागि आवेदन माग्दा निकै टाढासम्मका आवेदन प्राप्त हुने गरेको र सिटको सीमितताले इच्छित सबैलाई भर्ना गर्न नसकिएको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयमा अहिले एकहजार १३२ विद्यार्थी छन्। तीमध्ये ४९० छात्राको संख्या छ। यही कूल संख्याभित्र डिप्लोमा तहको पशुविज्ञान र कृषि विज्ञान विषयमा क्रमशः विद्यार्थी संख्या ११९ र १२१ रहेको प्रधानाध्यापक बरालले जानकारी दिए। विद्यालयमा माध्यमिक, प्राथमिक र डिप्लोमा तहका समेत ५० जना शिक्षक छन्। तीमध्ये १० जना मात्र स्थायी र अन्य करार नियुक्तिका रहेका विद्यालय प्रशासनले जनाएको छ। यसबाहेक पुस्तकालय हेर्ने, खेल प्रशिक्षक, दृष्टिविहीन छात्रछात्रालाई ब्रेललिपि पढाउने शिक्षक, कार्यालय सहयोगी र सुरक्षा गार्डसहित आठ कर्मचारी रहेका छन्। विद्यालयको पठनपाठनबारे महोत्तरीसहितका छिमेकका जिल्लामा सकारात्मक सन्देश प्रवाह हुँदा विद्यार्थीको चाप निकै बढेको छ। खासमा विद्यालयले निजी स्रोतबाट पारिश्रमिक दिनुपर्ने कर्मचारीका लागि रकम अभावको समस्या झेल्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन ढुंगानाले बताए। महोत्तरीको शिक्षा क्षेत्र आमरूपमा नियालिँदा जनता मावि गौरीडाँडा छुट्टै ठाउँको विद्यालय हो कि भन्ने लाग्ने गरेको जिल्लाका शिक्षाविद् बताउँछन्। एउटै जिल्लामै व्यवस्थापकीय चाँजो ठिक तरिकाले मिलाउँदा शिक्षा क्षेत्रमै गुणात्मक फड्को लगाउन सकिने उदाहरण जनता मावि गौरीडाँडाले बनाएको जिल्लाकै जलेश्वर ८ का बासिन्दा अवकाशप्राप्त मावि तहका शिक्षक सीताराम झाको भनाइ छ । रासस
च्भबम mयचभ बतस् जततउकस्ररतजबजबपजबदबच.अयmरलभधकरडटठठद्द


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button