आन्दोलित पत्रकारद्वारा प्रेस काउन्सिलमा तालाबन्दी



मेरो प्रदेश सम्वाददाता
पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक भएदेखि नै आन्दोलित पत्रकारहरुले मंसिर २ गते काउन्सिलमा कार्यवाहक (कावा) अध्यक्ष किशोर श्रेष्ठसँग कार्यकक्षमै भेट गरेर पारदर्शी र निष्पक्ष रुपमा पत्रपत्रिका वर्गीकरणको मागसहित ज्ञापन बुझाएको झण्डै महिना बित्दा पनि ज्ञापनपत्रबारे काउन्सिल मौन बसेपछि गत शुक्रबार कार्यवाहक अध्यक्ष श्रेष्ठको कार्यकक्षमा उनीहरुले ताल्चा लगाएका छन् ।
ताल्चा लगाएपछि चाबी सूचना सिंहदरबारस्थित सूचना, प्रविधि तथा संचार मन्त्रालयमा बुझाएका छन् । चाबी मन्त्रालयका सचिव दीपक सुवेदीले बुझेका थिए । सचिव सुवेदीलाई तालाबन्दी गर्नुका कारण र मागबारे जानकारी सञ्चारकर्मीहरुले गराएका थिए ।


काउन्सिलले हरेक आर्थिक वर्षमा देशभरबाट प्रकाशित पत्रपत्रिका वर्गीकरण गर्ने क्रममा आर्थिक वर्ष २०७४÷०७५ को वर्गीकरण अपारदर्शी र पूर्वाग्रहीपूर्ण गरिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । पत्रकारहरुको आन्दोलनको नेतृत्व नेपाल पत्रकार महासंघ पूर्वकेन्द्रीय सदस्य एवं प्रकाश साप्ताहिकका प्रकाशक÷सम्पादक दीपक पाण्डेले गरिरहेका छन् ।
आन्दोलनमा पत्रकार महासंघका उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौं जिल्ला शाखा पनि सहभागी छन् । काउन्सिलले वर्गीकरणमा निकै अपारदर्शी र विभेदपूर्ण गरेको र त्यसलाई चिर्न निष्पक्ष र न्यायोचित तरिकाले वर्गीकरण गर्नुको विकल्प नरहेपछि आन्दोलनमा उत्रन बाध्य भएको केन्द्रीय आन्दोलनका संयोजक पाण्डेले बताए ।
तालाबन्दीपछि उनीहरुले माग सुनुवाई गर्न दिएको २४ घण्टे अल्टिमेटम गुज्रिसक्दा पनि राज्य पक्षबाट बेवास्ता गरिरहेको भन्दै अध्यक्ष बिडारीले आक्रोश पोखे ।

आन्दोलनमा पेशागत विभिन्न संघ संगठनहरुले एक्यवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button