दुई दिनदेखि हराइरहेको डिजल ट्यांकर बरामद

प्रहरीका अनुसार चालक रामदेव यादव र सहचालक उमेश यादवलाई राति एक समूहले अपरण गरी ट्यांकर भारततर्फ लगेका थिए ।



बिगत दुई दिनदेखि हराइरहेको डिजल ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैयमा फेला परेको छ । थिरेश्वरनाथ नगरपालिका– १ मा रहेको राजदेवी मन्दिरको छेउमा पार्किङ गरिराखेको अवस्थामा ट्यांकर फेला परेको हो । अमलेखगञ्ज डिपोबाट डिजेल बोकी विराटनगरतर्फ गइरहेको नेपाल आयल निगमको ट्यांकर दुई दिनदेखि हराएको थियो । ट्यांकर सिरहा प्रहरीलाई बुझाउने तयारी भईरहेको र थप अनुसन्धान सिरहा प्रहरीले गर्ने बताइएको छ ।
मंगलबार टंयाक्कर व्यवसायी महासंघको सूचना अनुसार बिहार पुगेको सिरहा प्रहरी रातभरीको खोजीपछि रित्तै फर्किएको थियो । ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ बजे गायब भएकोे थियो । ट्यांकरका चालक भने मंगलबार दिउँसो प्रहरीको सम्पर्कमा आएका थिए । प्रहरीका अनुसार चालक रामदेव यादव र सहचालक उमेश यादवलाई राति एक समूहले अपरण गरी ट्यांकर भारततर्फ लगेका थिए ।
प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महंगो पर्ने भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका गरिएको छ । उक्त ट्यांकरमा काठमाडौं उपत्यकाको बिक्री मूल्य अनुसार १९ लाख ४० हजार रुपैयाँ बराबरको २० हजार लिटर डिजेल थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button