कुर्था–जयनगर रेल सेट दुईवटा मध्ये एउटा सेट पुस सम्ममा आइपुग्ने



प्रदेश सम्वाददाता
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल सञ्चालनका लागि खरीद गरिएको रेल सेट आगामी पुससम्ममा आइपुग्ने भएको छ । भारतीय सरकारी कम्पनी कोनकान मार्फत नेपालले रेल सेट खरीद गर्न लागेको हो ।
रेल सेट निर्माणसँगै रेलमार्गको
निर्माण र रेलको विनियमावली बनाउने काम भइरहेको रेल विभागका प्रवक्ता (वरिष्ठ डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले जानकारी दिए । उनका अनुसार वर्षाको समयमा बाढीका कारण कमला नदीको तटबन्ध भत्काउँदा झण्डै १०० मिटर सम्म रेलको लिग बगाएको थियो । भारतीय कम्पनीले निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिनसकेकाले क्षति पुगेको स्थानमा समेत सोही ठेकेदार कम्पनीले काम गर्नेछ । लिग बगाएको काम पनि पुससम्ममा सकिने भारतीय पक्षको भनाई छ ।”


भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्गको निर्माण हाल भइरहेको छ । नेपाल सरकारले भारत सरकारसँग दुई वटा रेल सेट खरीद प्रक्रिया एक वर्ष अघिनै बढाएको थियो । ‘जि टु जि’(दुई सरकारकाबीच) रेल खरीद भएको प्रवक्ता चित्रकारले बताए । दुई वटा सेटमध्ये एउटा सेट पुससम्ममा आइपुग्नेछ । डिजेल इलेक्ट्री मल्टिपल युनिट प्रविधि भएको सो सेटमा एउटा सेटमा पाँच वटा डिब्बा रहने छ । सरकारले अहिले दुई वटा सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहने छन् । यी दुई सेटको क्षमता एक हजार २०० सम्म यात्रु बोक्ने रहेको छ । अहिले रेल सेटको निर्माण भइरहेको छ ।
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अन्य भौतिक पूर्वाधार निमाण भइसकेका छन । रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेकाले कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न गरी रेल सेवा विस्तार गरने छ ।
रेल सञ्चालनकालागी कम्पनीमा दक्ष प्राविधिक सहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको छ । नेपालमा हाल रहेको रेल्वे कम्पनी नामको मात्रै भएकाले यस्लाई सञ्चालनमा ल्याउन कम्पनीमा रेलसम्बन्धी ज्ञान र क्षमता भएका जनशक्ति प्रस्ताव गरिएको हो । रेल सञ्चालनका लागि नयाँ कम्पनी निर्माण नगरी पुरानै कम्पनीलाई बलियो बनाउने काम भइरहेको छ ।
रेल सञ्चालनका लागि कम्पनीमा सबै गरेर २०० भन्दा बढी जनशक्ति आवश्यक पर्ने विभागले बताउँदै आएको छ । एक जना प्रमुख, सञ्चालन, मर्मतलगायतका कामका लागि इञ्जिनीयरिङ क्षेत्रका जनशक्ति, प्रशासन, लेखालगायतका कर्मचारी आवश्यक रहेको भन्दै विभागले प्रस्ताव गरेको हो ।
नेपालमा रेलसम्बन्धी छुट्टै कानूनी व्यवस्था नभएकाले पहिले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत नै सञ्चालन गरीएकोे थियो ।
जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि नेपाल सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । त्यसको डेढ वर्ष पछिबाट काम शुरु भएको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सीमा क्षेत्रका पाँच स्थानमा रेलमार्ग निर्माण हुन लागेको छ तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुन सकेको छैन ।१० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ ।

सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन् । यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button