विद्यालयका पाठ्यक्रम परिवर्तन हुँदै



विद्यालय तहमा अध्यापन गराउदै आएको अनिवार्य विज्ञान विषयमा आगामी शैक्षिक सत्रबाट प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गराईने छ ।
विश्वमा विकास हुँदै गएको प्रविधिबारे विद्यार्थीलाई सिकाउने उद्देश्यले पुस्तकमा प्रविधि विषय थप गरिएको छ । १९९० सालबाट नेपालमा प्रवेशिका परीक्षाको थालनी भएपनी त्यो बेला अतिरिक्त विषयका रूपमा साधारण विज्ञान विषय मात्र समावेश गरिएको थियो । नयाँ शिक्षा लागू भएपछि अनिवार्य विज्ञान विषय पाठ्यक्रमभित्र समावेश गरिएको थियो र २०३१ सालबाट सो विषय प्रवेशिका परीक्षामा समावेश गरीएको थियो ।
पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी गणेश भट्टराइका अनुसार “सूचना र प्रविधिको युगमा विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति विकास गर्ने क्रममा विज्ञान र प्रविधिलाई जनशक्ति संग जोड्ने निर्णय गरीएको हो । ” आगामी शैक्षिक सत्र २०७७ बाट कक्षा १ र कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरी कक्षा ६ मा नयाँ पाठ्यक्रम परीक्षणका लागी लागू गरिँदै छ । कक्षा ४ देखि १० सम्म विज्ञान तथा प्रविधि विषयको अध्यापन गरिने छ । आगामी २०८० सालसम्ममा सबै तहमा नयाँ पाठ्यक्रम लागू भइसक्ने छ ।


नयाँ पाठ्यक्रमको संरचनाअनुसार अबदेखि पूर्णाङ्कको व्यवस्था हटाइएको छ । नेपालमा आधुनिक शिक्षाको थालनी हुँदादेखि नै पूर्णाङ्कको व्यवस्था रहेको थियो । त्यसलाई विस्थापित गरी क्रेडिट आवर बनाइएको छ । कक्षा ११ र १२ मा हप्तामा २७ घण्टा तथा त्यो भन्दा तल हप्तामा ३२ घण्टाको क्रेडिट आवर कायम गरिएको छ । सबै तहका विद्यार्थीको मूल्याङ्कन अक्षराङ्कन पद्धतिमा मात्र गरिने छ ।
नयाँ पाठ्यक्रममा कक्षा १–३ मा नेपाली, अङ्ग्रेजी, मेरो सेरोफेरो र गणित विषयलाई एकीकृत पाठ्यक्रममा राखिएको छ । पाठयक्रम केन्द्रका सूचना अधिकारी भट्टराईका अनुसार स्थानीय तहले मातृभाषा र स्थानीय विषय तयार गरी हप्ताको पाँच घण्टा अध्यापन
गर्नुपर्ने छ ।
त्यस्तै कक्षा ४ देखि ८ को पाठ्यक्रममा मानव मूल्य शिक्षा विषय थप गरिएको छ । हाल कक्षा ४–५ मा नैतिक शिक्षा थिएन भने कक्षा ६–८ मा नैतिक शिक्षाको अध्यापन हुँदै आएको छ । नैतिक शिक्षालाई नै मानव मूल्य शिक्षा बनाइएको हो । हाल कक्षा ६–८ मा अध्यापन हुँदै आएको पेसा, व्यवसाय र प्रविधि विषयलाई राष्ट्रिय पाठ्यक्रमबाट हटाइएको छ र त्यसलाई स्थानीय पाठ्यक्रममा समावेश गरिएको छ ।
कक्षा ९–१० मा अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषय हटाइएको छ । अब आठवटा विषयबाट सातवटामा झारिएको छ । विगतमा रहेको स्वास्थ्य, जनसङ्ख्या र वातावरण विषयलाई तीनवटा अलगअलग विषयमा विभाजन गरी तिनलाई ऐच्छिक विषयका रूपमा समावेश गरिएको छ । “विद्यार्थीले ऐच्छिक विषयका रूपमा स्वास्थ्य वा जनसङ्ख्या वा वातावरणमध्ये कुनै एकमध्ये रोज्न सक्ने छन्”, उहाँले भन्नुभयो । कक्षा ११ र १२ दुवैमा अनिवार्य नेपाली विषय थप गरिएको छ । यसअघि विभिन्न विषय समूहमध्ये कसैले कक्षा ११ मा र कसैले कक्षा १२ मा नेपाली विषय
अध्ययन गर्नुपथ्र्याे । उहाँका अनुसार कक्षा १२ मा जीवनोपयोगी शिक्षा समावेश गरिएको छ ।
कक्षा ११ र १२ मा विषय समूहको प्रावधान हटाइएको छ । “अब विज्ञान वा व्यवस्थापन वा शिक्षा वा अन्य समूह भनेर भन्न पाइँदैन”, केन्द्रका सूचना अधिकारी भट्टराईले भन्नुभयो, “आगामी शैक्षिक सत्रबाट एकल पथीय पाठ्यक्रम लागू हुने छ । ऐच्छिक विषयहरू राखिएका छन् र तीमध्येबाट कुनै तीनवटा छनोट गर्नुपर्ने हुन्छ । ”
कक्षा १०, ११ र १२ मा राष्ट्रिय परीक्षा बोर्डले नै वार्षिक परीक्षा सञ्चालन गर्ने नयाँ पाठ्यक्रममा स्पष्ट छ । विगतमा कक्षा ११ मा वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने चर्चा निकै चलेको थियो । गोरखापत्रबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button