मिलानद्वारा टोरिनो पराजित



एजेन्सी । इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा टोरिनोलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा मिलानले टोरिनोलाई ३-१ गोलले पराजित गरेको हो ।


घरेलु मैदानमा मिलानलाई जित दिलाउन एस्लेय योङ, डिएगो गोदिन र मार्टिनेजले एक एक गोल गरे । टोरिनोका लागि आन्द्रेआ बेलोटीले एक गोल गरे ।

खेलमा अग्रता भने पाहुना टोली टोरिनोले लिएको थियो । खेलको १७ औं मिनेटमा गोल गर्दै टोरिनोलाई पहिलो हाफमा १-० गोलको अग्रता दिलाएका थिए । तर टोरिनोले दोस्रो हाफमा अग्रता जोगाउन सकेन ।

दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा नै योङले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले मार्टिनेजको पासमा गोल गरेका हुन् । त्यसको तीन मिनेट नबित्दै डिएगोले गोल गर्दै मिलानलाई २-१ को अग्रता दिलाए । त्यस्तै मार्टिनेजले खेलको ६१ औं मिनेटमा गोल गर्दै मिलानलाई ३-१ को पुनरागमन जित दिलाए ।

यस जितसँगै मिलान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ३२ खेल खेलेको मिलानको ६८ अंक छ भने शीर्ष स्थानको युभेन्टसको ७६ अंक छ । पराजित टोरिनो ३४ अंक सहित १६ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close