कोरोना भाइरस भारत: लकडाउनका बेला लरी दुर्घटना घर, फर्किन लागेका २४ आप्रवासी कामदारको मृत्यु



भारतको उत्तर प्रदेशमा दुईवटा लरी जुध्दा कम्तीमा २४ जनाको मृत्यु भएको छ।


दुर्घटनामा परेका अधिकांश व्यक्तिहरू झारखण्ड र पश्चिम बङ्गालबाट आएका आप्रवासी कामदार भएको बताइएको छ।

उत्तर प्रदेशको ओरैया जिल्लामा शनिवार बिहान उक्त दुर्घटना भएको थियो।

भारतमा देशव्यापी लकडाउन लगाइएपछि उनीहरू उनीहरू उत्तर प्रदेशमा अलपत्र परेका थिए।

सडक किनारामा रहेको एउटा क्याफेनजिकै रोकिराखेको लरीमा अर्को लरी आएर ठोकिएको थियो।

भारतमा कोरोनाभाइरस नियन्त्रण गर्न सरकारले गत मार्च २४ देखि लकडाउन लगाएको छ।

त्यसले गर्दा देशभरि आर्थिक गतिविधिमा अवरोध सिर्जना भएको छ तथा लाखौँ दैनिक ज्यालादारीमा गुजारा गर्ने कामदारहरू प्रभावित भएका छन्।

ठूला सहरबाट आफ्नो गृहराज्य फर्किन आतुर कैयौँ मानिसहरू सयौँ किलोमिटर हिडिँरहेका छन्।

कतिपय मानिसहरू सरकारले व्यवस्था गरेका गाडीलाई पर्खिनुको साटो सामान बोक्ने लरीमा लुकेर घर फर्किरहेका छन्।

 

रेल र सडक दुर्घटनामा दर्जनौँ मानिसहरूको मृत्यु भएको छ।

केही दिनअघि उत्तर प्रदेशकै मुजफरनगरस्थित एउटा राजमार्गमा बसले ठक्कर दिँदा छ जनाको ज्यान गएको थियो।

मे ८ मा महाराष्ट्रको औरङ्गाबाद सहरनजिकै एउटा रेलले किचेर १६ जनाको मृत्यु भएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

उनले ट्वीट गर्दै उक्त दुर्घटनामा घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेहरूको उपचारको व्यवस्था गर्न र घटनाको कारण पत्ता लगाउन आदेश दिएका छन्।

उत्तर प्रदेशको क्षेत्रीय दल समाजवादी पार्टीका नेता अखिलेश यादवले आप्रवासी कामदारको व्यवस्थापनलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

ट्विटरमा उनले यस्तो किसिमको दुर्घटना मृत्यु नभएर हत्या भएको लेखेका छन्।

बि बि सी नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button