कोरोना भाइरस भारत: ग्रामीण भेगमा बजार र आवासीय क्षेत्रमा किराना पसल खुल्ने



भारत सरकारले कोरोनाभाइरस महामारीका फैलिन नदिने उद्देश्यले एक महिनाभन्दा बढी समय बन्द गरिएका स्थानीय किराना पसल पुन: सञ्चालन गर्न दिने भएको छ।


त्यहाँको गृह मन्त्रालयले सामान्य अवस्थामा भन्दा आधा सङ्ख्यामा मानिसहरूले पसलमा काम गर्न पाउने जनाएको हो।

काम गर्दा पसलमा बस्ने व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने र मानिसहरूले एकअर्काबीच दूरी कायम राख्नुपर्ने बताएको छ।

एक अर्ब ३० करोड भन्दा बढी जनसङ्ख्या भएको भारतमा ठूला व्यापारिक भवनहरू भने बन्द रहनेछन्।

दिल्लीको योजना

शुक्रवार अबेर जारी गरिएको त्यस्तो निर्देशनअनुसार लकडाउनका बेला ग्रामीण भेगमा बजार र आवासीय क्षेत्रमा सबै पसलहरू खुल्न पाउनेछन्।

तर मदिरा पसल भने बन्द नै रहनेछन्।

देशमा आर्थिक गतिविधिहरू क्रमिक रूपमा सञ्चालन गर्दै लैजाने उद्देश्यले दिल्लीले यस्तो निर्णय गरेको हो।

यसबाट खासगरी ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई त्राण दिन खोजिएको ठानिएको छ।

दशौँ लाख भारतीयहरू दैनिक उपभोग्य सामानका लागि किराना पसलमा निर्भर रहन्छन्।

अतिप्रभावित क्षेत्रमा प्रतिबन्ध कायमै

महमारीको उच्च जोखिम भएको आकलन गरिएका अतिप्रभावित क्षेत्रमा व्यावसाय सञ्चालनमा लगाइएका प्रतिबन्धहरू अझै कायम रहनेछन्।

भारतमा अहमदाबादद, सुरत, हैदराबाद र चेन्नई जस्ता क्षेत्रलाई ‘ठूला र उदाउँदा हट-स्पट क्षेत्र’ घोषणा गरिएको छ।

भारतमा सामाजिक दूरी कायम राख्ने काम निकै चुनौतिपूर्ण बनेको छ।
भारतमा सामाजिक दूरी कायम राख्ने काम निकै चुनौतीपूर्ण बनेको छ

केन्द्र सरकारले यी सहर भएका गुजरात, तेलङ्गाना र तमिलनाडु राज्यका चार जिल्लालाई निगरानीमा राखेको छ। त्यहाँ ५,००० भन्दा बढी मानिसमा कोरोनाभाइरस भेटिएको छ

भारतको विपद् व्यवस्थापन कानुनका अनुसार अन्य राज्य सरकारहरूले उक्त निर्देशन लागु नगर्न पनि सक्नेछन्।

भारतको अवस्था कस्तो छ?

भारतमा शनिवारसम्म २४,५०० भन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका छ। त्यहाँ झन्डै ७,८० ले ज्यान गुमाएका छन्।

भारतीय मूलका नोबेल पुरस्कार विजेता अर्थशास्त्री अभिजित बेनर्जीले हालै बीबीसीसँग कुरा गर्दै लकडाउन जारी रहँदा भारतले विपन्न नागरिकका लागि काम गर्नुपर्ने औँल्याएका छन्।

उनले भने, “अहिलेसम्म हामीले गर्नुपर्ने कामको नजिकसमेत पुगेका छैनौँ।”

मार्च २४ मा मा लकडाउन सुरु गरेपछि भारतले २३ अर्ब अमेरिकी डलरको एउटा आर्थिक सहायता कार्यक्रम सार्वजनिक गरेको थियो।

त्यसको अधिकांश भाग गरिबहरूलाई आर्थिक सहायता र खाद्य सुरक्षा दिनेमा केन्द्रित हुने बताइएको थियो।

तर अर्थशास्त्री बेनर्जी भन्छन्, “खोप नबन्दासम्म यो रोग लामो अवधिसम्म रहनेछ। त्यसैले भारतले स्पष्ट र राम्रोसँग विश्लेषण गरिएको योजनाबारे सोच्नुपर्छ।”

बि बि सी नेपाली

Presentational white space

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button