डब्लूएचओ भन्छ: कोरोनाभाइरस विश्वव्यापी महामारी, जाँच र उपचारका लागि नेपाललाई प्राविधिक सहयोगको प्रतिबद्धता



विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोनाभाइरसको सङ्क्रमणलाई महामारीको संज्ञा दिएको छ।


डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले पछिल्लो दुई हप्तामा चीनबाहिर १३ गुणाले कोरोनाभाइरसको सङ्क्रमण विस्तार भएको बताए।

उनले चिन्ताजनक तहमा अनिर्णयको अवस्था रहेको भन्दै त्यसले आफूलाई गम्भीर बनाएको बताए।

एकै समयमा एउटा रोग एक भन्दा धेरै देशमा फैलिएको अवस्थामा त्यसलाई महामारीका रूपमा चित्रण गरिन्छ।

डब्लूएचओले के भन्यो?

डाक्टर टेड्रोसले महामारी भन्नुको अर्थ डब्लूएचओले देशहरूलाई चाल्नुपर्ने कदमका बारेमा दिएका सुझावमा परिवर्तन नगरिएको उल्लेख गरे।

कोरोनाभाइरसतस्वीर कपीराइटAFP

उनले सङ्क्रमणलाई नियन्त्रणमा लिन देशहरूले ‘तत्कालै र आक्रामक स्तरमा’ कदमहरू चाल्नुपर्ने बताए।

उनले कैयौँ देशहरूले यो भाइरसलाई दबाउन र नियन्त्रण गर्न सकिन्छ भनेर पुष्टि गरिरसकेको बताए।

उनको अपिलसँगै कैयौँ देशहरूले भाइरसलाई नियन्त्रणमा लिन थप कदमहरू चालेका छन्।

सोमवार यता सङक्रमितको सङ्ख्या १० गुणाले बढेर ५१४ भएको डेनमार्कले शुक्रवारबाट लागु हुने गरी सबै विश्वविद्यलाय र विद्यालयहरूमा बिदा दिएको छ।

संवेदनशील जिम्मेवारीमा रहेका बाहेक सबै निजी क्षेत्रका कर्मचारीलाई बिदा दिने उसले घोषणा गरेको छ।

भारतले एप्रिल १५ सम्म अधिकांश विदेशीका प्रवेशाज्ञा निलम्बन गर्ने बताएको छ।

ग्वाटेमालाले युरोपेली नागरिकहरूलाई आफ्नो देशमा प्रवेश गर्नबाट बिहीवारबाट प्रतिबन्ध लगाउँदै छ।

महामारीको अर्थ के हो?

बीबीसीकी फिलिपा रोक्सबी भन्छिन्, डब्लूएचओले विश्वव्यापी रूपमा देखिएको कोरोनाभाइरसको सङक्रमणलाई महामारी भन्नु ठूलो आश्चर्य होइन।

केही समयअघि सम्म कोरोनाभाइरसको महामारी देखिने जोखिम वा सम्भावना रहेको भनेर भन्ने गरिएको थियो।

तर १०० देशसम्म सङक्रमण विस्तार भएको र पीडितहरूको सङ्ख्या बढ्नुमा सङ्क्रमणग्रस्त देशबाट भएका यात्राहरू नजोडिएपछि महामारीको घोषणा गरिएको हो।

डब्लूएचओले महामारी भन्नुको अर्थ यसलाई नियन्त्रण गर्न सकिँदैन भनिएको होइन।

सङक्रमणको सङ्ख्या जति ठूलो देखिए पनि कदमहरू चाल्न र हरेस नखान गरिएको आग्रहका रूपमा यसलाई बुझ्नुपर्ने फिलिपा रोक्सबी बताउँछिन्।

डब्लूएचओले नेपालसहित विश्वका विभिन्न देशहरूलाई कोभिड-१९को चुनौतीसँग जुध्न मद्दत गर्दै आएको छ।

नेपाललाई कोरोनाभाइरससँग जुध्न मद्दतको प्रतिबद्धता

कोरोनाभाइरसतस्वीर कपीराइटEPA

नेपालस्थित डब्लूएचओको कार्यालयका सूचना अधिकृत सुजन गोविन्द अमात्यका अनुसार विश्वभर स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि प्रयोग हुने पीपीइ र कोरोनाभाइरसको सङ्क्रमण जाच्न प्रयोग हुने किटहरूको नेपालका लागि पनि चुनौती रहेको छ।

उनले डब्लूएचओ नेपालले कोभिड-१९ सँग जुध्न गठन गरिएको स्वास्थ्य ‘क्लस्टर’ अन्तर्गत निम्न सहयोग गरिरहेको उल्लेख गरे।

  • स्वास्थ्य मन्त्रालयलाई विश्वव्यापी र क्षेत्रीय निर्देशन अनुसारको रणनीतिक र प्राविधिक सुझाव उपलब्ध गराएर कोरोनाभाइरससँग जुध्न देशविशेषको प्राविधिक मार्गनिर्देशन र उपचारविधि तय गर्ने
  • तत्काल सङ्क्रमण पुष्टि गर्न निगरानी अभिवृद्धि, जोखिम मुल्याङ्कन, द्रुत प्रयोगशाला परीक्षण, सङ्क्रमण नियन्त्रण र क्वारन्टीन, अस्पताल पूर्वतयारी र स्वास्थ्यकर्मीको तालिम जस्ता विषयमा संयन्त्रलाई चुस्त दुरूस्त राख्न मद्दत गर्ने
  • पूर्वतयारी र प्रतिक्रियाका लागि आवश्यकता अनुसार थप प्राविधिक जनशक्ति उपलब्ध गराउने
  • पीपीइ जस्ता स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारका पोशाक, परीक्षण किट र प्रयोगशालामा प्रयोग हुने अत्यावश्यकीय सामाग्रीमा देखिएको अभाव पूर्ति गर्न मद्दत गर्ने
  • विश्वव्यापी अनुभव अनुसार सम्भावित आपत्कालीन अवस्थाका लागि प्रभावकारी रूपमा योजना बनाउन र तयारी गर्न स्वास्थ्य मन्त्रालय र त्यस मातहतका निकायलाई सहयोग गर्ने
  • कोभिड-१९ सँग सम्बन्धित आपत्कालीन कार्य सञ्चालनको कार्यान्वयनका लागि नेपाल सरकारका मन्त्रालयहरू, राष्ट्रसंघीय निकायहरू, देश बाहिरका विकास साझेदारहरू र मानवीय साहयता समूहसँग समन्वय गर्ने
  • अरू स्वास्थ्य साझेदारहरूसँग सहकार्य गर्ने

डब्लूएचओको नेपाल कार्यालयले आफूसहितका साझेदारहरू मौसमी वर्षा र भूकम्पका समयमा प्रयोग गरिएका संयन्त्रमार्फत हासिल भएका शिक्षाका आधारमा कोरोनाभाइरसको चुनौतीसँग जुध्न बनाउँदै गरिएको कोभिड-१९ आपत्कालीन कार्य सञ्चालन योजनाको कार्यान्वयनमा सघाउन प्रतिबद्ध रहेको जनाएको छ।

बुधवारसम्मको विवरण अनुसार नेपालमा हालसम्म गरिएको ४४७ वटा परीक्षणमध्ये एक जनामा मात्रै कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।

कोरोनाभाइरस परीक्षणका लागि ७ वटा प्रदेशका ४३ वटा नाकामा हेल्थ डेस्क राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

coronavirus nepali banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button