कोरोनाभाइरस: चीन र हङ्‍कङबाट आउने उडान प्रभावित, अन्यत्रबाट आउने यथावत



कोरोनाभाइरसको सङ्क्रमणका कारण चीनबाट नेपाल आउने उडान सङ्ख्यामा उल्लेख्य कमी आएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।


प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्ण भन्छन्, “ज्यानुअरीको सुरुमा हप्तामा ६५ चिनियाँ विमानको उडान भइरहेकोमा अहिले ६/७ वटामात्रै आउने गरेको छ। हङ्‍कङबाट पनि महिनामा ३५ वटा आउने गरेकामा पाँचवटा उडान रद्द गरिएको छ।”

चीनबाट आउने चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान, हिमालयन एअरलाइन्स र एअर चाइनालगायत सबै वायुसेवाको उडान प्रभावित भएको बताइएको छ।

कर्णले अन्य देशबाट आउने उडानहरू भने अहिलेसम्म प्रभावित नभएको बीबीसी न्यूज नेपालीलाई बताए।

चीनको वुहान सहरमा डिसेम्बर महिनाको अन्तिममा देखा परेको नयाँ कोरोनाभाइरस कोभिड-१९ बाट मङ्गलवारसम्म ७३ मुलुक प्रभावित भइसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

चीनबाहेक दक्षिण कोरियामा सबैभन्दा धेरै सङ्क्रमण देखिए पनि त्यहाँबाट आउने कुनै पनि उडान भने अहिलेसम्म प्रभावित नभएको कर्णले बताए।

उनले भने, “यात्रुहरू भए मात्रै एअरलाइन्सहरूले पनि उडान गर्ने हो। अहिले उताबाट आउँदा ६५/७० जना यात्रुलाई लिएर आउँछन् अनि यताबाट पनि त्यस्तै सङ्ख्यामा यात्रु लिएर जान्छन्।

“उडान राखे पनि यात्रु नभएपछि विमान आउँदैन। त्यसैले विमानको सङ्ख्या घट्दै गएको छ।”

उनका अनुसार ज्यानुअरीमा चीनबाट प्रतिहप्ता चाइना साउदर्नको १४ वटा, एअर चाइनाको सातवटा, चाइना इस्टर्नको ११ वटा, हिमालय एअरलाइन्सको नौवटा, तिब्बत एअरलाइन्स नौवटा, सिचुवानको नौवटा आइरहेका थिए।

चिनियाँ विमान

सर्वोच्चको आदेश

यसैबीच सर्वोच्च अदालतले कोरोनाभाइरसको सङ्क्रमण विभिन्न देशमा देखिरहेका बेला आवश्यकता परे केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो।

नेपाल प्रवेश गर्ने स्थलमार्ग र अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइका साथ स्वास्थ्य जाँच गर्न सरकारका नाममा सर्वोच्चले आदेश दिएको हो।

सोमवार न्यायाधीश तेजबहादुर केसीले दिएको अन्तरिम आदेशमा उल्लेख छ, “कोरोना भाइरसको गम्भीर सङ्क्रमण फैलिएका देशहरू सोझै वा ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानको अवस्था र परिस्थितिको गम्भीरताको सूक्ष्म मूल्याङ्कन गरी आमजनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउनु।”

उक्त आदेशबारे आफूहरूले सञ्चारमाध्यमबाटमात्रै थाहा पाएको भन्दै त्यसबारे अहिलेसम्म कुनै निर्णय भइनसकेको प्राधिकरणले जनाएको छ।

कर्णले भने, “अहिले उडान रोक्ने सम्बन्धमा केही निर्णय भइसकेको छैन। त्यस सम्बन्धमा आदेश आइपुगेपछि हामी थप निर्णय गर्छौँ।”

यात्रुको सङ्ख्यामा कमी

परराष्ट्र मन्त्रालयले पनि अत्यावश्यक कामकाजबाहेक विदेश नजानका लागि सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपालमा भित्रिने र नेपालबाट बाहिरिने यात्रुको सङ्ख्यामा भने असर परिसकेको प्राधिकरणले जनाएको छ।

दैनिक १३,००० यात्रु आगमन र प्रस्थान गर्ने गरिरहेकोमा अहिले त्यो सङ्ख्या घटेर १०,००० पुगेको कर्णले बताए।

कोरोना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button