विश्वकै धनाढ्य व्यापारी जेफ बेजोस्ले भारतमा एक खर्वभन्दा बढी लगानी गर्ने

अमेजनका मालिक जेफ बेजोस्ले भारतलाई प्रमुख बजार भन्दै ठूलो लगानी गर्ने घोषणा गरेका छन्।
बेजोस्ले आफ्नो संस्थाले भारतमा साना तथा मझौला व्यापारलाई इन्टरनेटमा कारोबार गर्न सहज बनाउन एक अर्व अमेरिकी डलर अर्थात एक खर्व १३ अर्व नेपाली रुपैयाँ लगानी गर्ने बताएका छन्।
नयाँ दिल्लीमा एउटा कार्यक्रममा बोल्दै बेजोस्ले एक्काइसौँ शताब्दी ‘भारतको शताब्दी’ हुने बताए।
उनको तीन दिने भारत भ्रमणका बेला साना व्यापारीहरूले विरोध गर्ने ठानिएको छ।
- अमेजनको साहूद्वारा पत्रिकाले आफूलाई’ ब्ल्याकमेल’ गर्न खोजेको आरोप
- विश्वका सबैभन्दा धनी व्यक्तिले सम्बन्धविच्छेद गर्दै के भने
भारतका ३०० शहरका साना व्यापारीहरूले अमेजनले स्थानीय बजारमा नकारात्मक प्रभाव पारेको भन्दै विरोध प्रदर्शनको योजना गरेका छन्।
उनीहरूले अमेजनले केही ठूला विक्रेताहरूलाई मात्रै प्रोत्साहन गरेर र ठूलो छुटमा सामान उपलब्ध गराएर साना व्यापारीहरूलाई असर गरेको आरोप लगाएका छन्।
अमेजनले भने ती आरोपहरूको खण्डन गरेको छ।
बुधवारको सम्बोधनमा बेजोस्ले भने: “यो गतिशीलता, यो उर्जा … यो वृद्धि। यो देशसँग केही विशेष छ। र, यो प्रजातन्त्र हो।”
उनले अमेजनले सन् २०२५ सम्ममा भारतमा बनेका १० अर्व डलर बराबरका सामान निर्यात गर्ने र ५.५ अर्व डलर लगानी गर्ने प्रतिबद्धता गरिसकेको बताए।
भारतको इन्टरनेटमा खरीद बिक्री व्यापारमा अमेजन र अमेरिकी संस्था वालमार्टको फ्लिपकार्ट सबैभन्दा ठूला खेलाडी हुन्।
तर गत वर्ष भारत सरकारले विदेशी संस्थाले आफ्नै उत्पादनका सामग्री बिक्रीमा सीमा तोक्ने कानुन ल्याएपछि दुवैलाई केही घाटा लागेको थियो।
यो महिनाको सुरुमा एशियाका सबैभन्दा धनी व्यापारीले भारतमा अमेजनलाई चुनौती दिन नयाँ सेवा सुरु गरेका छन्।
मुकेश अम्बानीको रियालन्स इन्डस्ट्रिजले मानिसहरूलाई नयाँ सामान घरदैलोमा पुर्याउने सेवाका लागि नाम दर्ता गर्न निमन्त्रण गरेको थियो।
सो कम्पनीले आफ्नो मोबाइल सेवाका ठूलो ग्राहक सङ्ख्यालाई उपयोग गरेर व्यापार स्थापित गर्ने नीति लिएको छ
बि बि सी नेपाली