बोरिस जोनसन: ब्रिटिश प्रधानमन्त्रीले इरानको परमाणु प्रवर्धनका सम्बन्धमा अमेरिकी राष्ट्रपतिको समर्थन गर्ने

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इरानको परमाणु गतिविधि सम्बन्धी हालको सम्झौतालाई प्रतिस्थापन गर्न अमेरिका र अन्य मित्र राष्ट्रहरूसँग मिलेर अगाडि बढ्न आफू इच्छुक रहेको बताएका छन्।
उनले अमेरिकाले समर्थन फिर्ता लिएको अहिलेको सम्झौतालाई यूकेले समर्थन गरिरहने बताउँदै भने, “यसलाई प्रतिस्थापन गरौँ र यसलाई ट्रम्पको सम्झौताले प्रतिस्थापन गरौँ।”
बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सबर्गले आफूले प्रधानमन्त्री जोनसनको उक्त भनाइलाई अहिलेको सम्झौता अमेरिकालाई मान्य हुनेगरी फेर्न चाहेको भनी बुझेको बताएकी छन्।
जोनसनले युरोपेली संघसँग यो वर्ष व्यापार सम्झौता हुने सम्भावना उच्च रहेको बताएका छन्।
यूकेको निर्वाचन पछिको पहिलो लामो टीभी अन्तर्वार्तामा बीबीसी ब्रेकफास्टका डान वाकरसँग जोनसनले ईयूबाट ज्यानुअरी ३१ मा बाहिरिएपछि यूके र ईयूबीच ‘गजब’को नयाँ सहकार्य हुने बताएका छन्।
- इरानका लागि ब्रिटिश राजदूत तेहरानमा पक्राउ
- इरानमा प्रदर्शन चर्किँदै, सर्वोच्च नेताविरुद्ध पनि नाराबाजी
इरानका बारेमा जोनसन
सन् २०१८ मा अमेरिकाले इरानका बिषयमा सन् २०१५ मा हस्ताक्षरित ‘ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन’ बाट हात झिकेको थियो।
सो सम्झौतामा इरानले परमाणु प्रवर्धनको कार्य कम गर्ने, अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई निरीक्षण गर्न दिने र त्यसको बदला पश्चिमा देशहरूले इरानमाथिको व्यापारिक प्रतिबन्ध घटाउने कुरा थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई सबैभन्दा खराब सम्झौता भनेपनि यूकेसहित चीन, फ्रान्स, रुस र जर्मनीले सहमतिको पालना गरेका छन्।
बीबीसीसँग जोनसनले यूकेको अडान नयाँ सम्झौता नभएसम्म कायम रहने बताए।
- ‘भुलवश’ युक्रेनी विमान खसालिएको इरानले स्वीकार्यो, राष्ट्रपतिले भने ‘अक्षम्य गल्ती’
- इरानसँग ‘बिनासर्त गम्भीर वार्ता गर्न’ अमेरिका तयार
“अमेरिकी मित्रहरूलाई मेरो तर्क हामीले कसैगरी इरानलाई परमाणु अस्त्र दिनु हुन्न भन्ने हो। हामीलाई यसलाई प्रतिस्थापन गर्ने सम्झौता चाहिन्छ।”
“अमेरिकी नजरमा यो खराब सम्झौता हो र यो राष्ट्रपति ओबामाले गरेको सम्झौता हो।”
“यसलाई ट्रम्प सम्झौताले प्रतिस्थापन गरौँ। राष्ट्रपति ट्रम्प गजबका वार्ताकार हुन्।”
इरानको स्वीकारोक्तिबाट खुसी
जोनसनले युक्रेनी हवाईजहाज खसालेर नराम्रो गल्ती गरेको भन्ने इरानको स्वीकारोक्तिबाट आफू खुसी भएको बताएका छन्।
उनले जेनरल कासिम सुलेमानी मारिएका सम्बन्धमा तनावलाई कम गर्न यूकेले खेलेको भूमिका परम्परागत भूमिका भएको बताएका छन्।
उनले इरान अद्भुत देश भएको बताउँदै त्यो ‘हाम्रो तरिकामा काम गर्ने देश हुने दिशामा अग्रसर हुनुपर्ने’ तर ‘अहिलेको सरकारले बन्दी बनाएको’ बताए।