नेपालले चिनियाँ बन्दरगाह प्रयोग गर्न पाउँदाका तीन फाइदा र तीन चुनौती



नेपाली अधिकारीहरूले चीनले समुद्री र सुक्खा गरेर सातवटा बन्दरगाह प्रयोग गर्न बाटो खोलिदिएको बताएका छन्।


चीनसँग भएको व्यापार तथा पारवहन सम्झौता अनुसार ज्यानुअरी १ सन् २०२० देखि चीनले नेपाललाई तेस्रो देशबाट सामान ल्याउन पाउने गरी आफ्ना बन्दरगाहहरू प्रयोगका लागि खुला गरिएको सूचित गरेको अधिकारीहरूले बताएका छन्।

तर हालसम्म अन्य देशबाट आयात गरिने सामानहरू चिनियाँ बन्दरगाह र बाटो प्रयोग गरेर खासै आयात हुने गरेका छैनन्।

चिनियाँ बन्दरगाह प्रयोगका सम्बन्धमा विज्ञ र व्यवसायीले देखेका चुनौती र फाइदाहरू के-के हुन्?

सात बन्दरगाह

अधिकारीहरूक अनुसार अब नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाहहरूबाट सामान आयात गर्न पाउनेछ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका भूतपूर्व अधिकारी र व्यवसायीहरूका अनुसार चिनियाँ बन्दरगाहहरू प्रयोग गर्न पाउने व्यवस्था भएपछि नेपालाई विभिन्न खाले फाइदा पुग्नेछन्।

तर त्यसका लागि केही चुनौतीको सामना पनि गर्नुपर्ने छ।

नेपालले चिनियाँ बन्दरगाह प्रयोग गर्दाका फाइदाहरू:

समय बचत

चीनले नेपाललाई प्रयोग गर्न दिने बन्दरगाहमार्फत नेपालमा तेस्रो मुलुकबाट सामान ल्याउँदा भारततर्फबाट भन्दा कम समय लाग्ने विज्ञहरू बताउँछन्।

उनीहरूका अनुसार दूरीका हिसाबले समुद्री मार्ग हुँदै भारततर्फबाट सामान ल्याउँदा कम देखिए पनि चीनबाट समय भने कम लाग्ने देखिएको हो।

व्यापार तथा पारवहनसम्बन्धी चीनसँगका बैठकहरूमा सामेल भएका वाणिज्य मन्त्रालयका पूर्व सहसचिव रविशंकर शैँजुका अनुसार चिनियाँ बन्दरगाह प्रयोग गर्दा २१ दिनभित्रै सामान आइपुग्ने देखिएको छ।

“कति सामानहरू समयमै आइपुग्नुपर्ने हुन्छ, त्यस्ता सामानका लागि भारततर्फबाट भन्दा चीनतर्फबाट ल्याउँदा सहज हुने देखिन्छ,” उनले भने।

“भारततर्फबाट लामो समय लाग्दा तिर्नुपर्ने विभिन्न शुल्क हेर्दा यो नै फाइदाजनक हुनसक्छ।”

चिनियाँ बन्दरगाहतस्वीर कपीराइटRSS

भारततर्फबाट सामान ल्याउनका लागि हाल नेपालले कोलकाता र विशखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको छ।

यी बन्दरगाह प्रयोग गरी जापान, कोरिया, ताइबान वा चीनबाट सामान ल्याउँदा कम्तिमा दुई महिना लाग्ने गरेको शैँजु बताउँछन्।

चीनको तियान्जेन बन्दगाहबाट नेपाली सीमासम्म आइपुग्न चार हजार किलोमिटर रहेको छ।

तर विशाखपट्नमबाट नेपालको सीमा आइपुग्न करिब १५ सय किलोमिटर मात्र छ।

त्यसो हुँदा पनि चीनको रेल सेवा राम्रो भएको र धेरै समस्याहरू नहुँदा चाँडै सामान ल्याउन सकिने अवस्था छ।

रणानीतिक महत्त्व

चिनियाँ बन्दरगाहमा नेपालको पहुँच रणनीतिक महत्त्वको रहेको विज्ञहरू बताउँछन्।

दक्षिणतिरका सीमा नाकाबाट सामानहरू आयात वा निर्यात गर्न नसक्दा यी नाकाहरू प्रयोग गर्न सकिने भएकाले त्यसलाई रणनीतिक हिसाबले हेर्नुपर्ने उनीहरू बताउँछन्।

चिनियाँ बन्दरगाहतस्वीर कपीराइटRSS

शैँजु भन्छन्, “पहिले हामीले दक्षिणतिर बन्द हुँदा समस्या खेपेका थियौँ तर अब उत्तरतिर हुँदा त्यस्तो समस्या हुँदैन।”

नेपालले सामान आयात र निर्यात गर्न दुवैतर्फका नाकाहरू र बन्दरगाहहरू प्रयोग गर्न सक्ने अवस्था सिर्जना भएकाले त्यसलाई महत्त्वपूर्ण उपलब्धी मान्नुपर्ने उनको तर्क छ।

व्यापारीहरूले पनि यसलाई रणनीतिक महत्त्वको निर्णय भएको तर अझै पनि कतिपय चुनौती रहेकाले त्यसलाई समाधान गर्नुपर्ने बताएका छन्।

नेपाल फ्रेड फडवार्स एसोसिएसन नेफाका निवर्तमान अध्यक्ष राजन शर्मा यो रणनीतिक भए पनि कार्यान्वयनमा आउनेमा शङ्का व्यक्त गर्छन्।

जुनसुकै रुट प्रयोग गर्न सकिने

चीनसँगको सम्झौताको अर्को महत्त्वपूर्ण फाइदा जुनसुकै रुट प्रयोग गर्न पाउनु रहेको विज्ञहरूको तर्क छ।

चीनसँग गरेको व्यापार तथा पारवहन सम्झौताको कार्यविधि प्रोटोकलअनुसार नेपालले रेल, सडक वा जलमार्गहरू प्रयोग गर्न पाउँछ।

तर भारतसँग यस्तो सम्झौता छैन। भारतसँग भने रुटहरू तोकिएका छन्।

“यसरी रुट नतोकिनु भनेको नेपालका लागि निकै फाइदाजनक हो। किनकि हामीलाई जुन रुट वा माध्यम सस्तो पर्छ त्यो प्रयोग गर्न सक्छौँ,” शैँजुले भने।

नेपालले चिनियाँ बन्दरगाह प्रयोग गर्ने सम्बन्धी चुनौतीहरू:

एउटै बाटो प्रयोग गर्नुपर्ने

नेपालले विभिन्न रुटहरू प्रयोग गर्न पाउने सम्झौता भएको भए पनि हाललाई उपलब्ध भने एउटा मात्र रुट रहेको जानकारहरू बताउँछन्।

चीनसँगका सम्झौताहरूमा संलग्न समेत रहेका शैँजुका अनुसार हाल चीनले प्रयोग गर्न दिएका चारवटा समुद्री बन्दरगाहबाट सामान ल्याउँदा लान्जाउमा ल्याउनै पर्ने हुन्छ।

त्यहाँबाट सुक्खा बन्दरगाह हुँदै तिब्बतको सिगात्सेसम्म रेल र त्यहाँबाट सडकमार्ग हुँदै सामान ल्याउनु पर्ने हुन्छ।

चिनियाँ बन्दरगाहतस्वीर कपीराइटGETTY IMAGES

त्यस्तै नेपालतर्फ पनि रसुवागढीको बाटो मात्रै सञ्चालनमा रहेकाले यो एउटा चुनौतीका रूपमा रहेको विज्ञहरूको तर्क छ।

व्यवासयी शर्मा भन्छन्, “अहिलेसम्म कस्ता समस्या आउँछन् भन्ने अध्ययन नै भएको छैन। त्यसैले हामीले के-के चुनौती भोग्नुपर्छ भनेर भन्न सकिदैन।”

“तर पनि जलमार्गबाट ल्याउनभन्दा रेलबाट ल्याउन महँगो पनि पर्छ। त्यसैले एउटा मात्र रुट भएका अवस्थामा यो चुनौती नै हो।”

प्रक्रियागत समस्या

चीनबाट सामान आयात गर्न आइपर्ने अर्को चुनौती भनेको प्रक्रियागत झन्झट अर्को रहेको विज्ञहरू बताउँछन्।

त्यसमा मुख्य समस्या भनेको भाषागत हो। चिनियाँहरूले जारी गर्ने प्रमाणपत्रदेखि सबै कागजातहरू चिनियाँ भाषामा हुने गर्छन्।

तर नेपालले अङ्ग्रेजीमा जारी गर्ने गरेको छ।

चिनियाँ भाषा पढ्न नजान्नेका लागि धेरै समस्या हुने भएकाले व्यापारीहरू चीनबाट सामानहरू ल्याउन उत्साहित नहुने चिन्ता रहेको शैँजुले बताए।

बाटो परिवर्तन नगर्ने चाहना

तेस्रो मुलुकबाट नेपाल ल्याइने सामान चीन हुँदै ल्याउन अर्को चुनौती भनेको व्यापारीहरूले परम्परागत बाटोलाई छाड्न नचाहनु हो।

भारतमै कोलकता बन्दरगाहबाट विशाखपट्नम बन्दरगाहमा स्थान्तरण हुनका लागि समेत व्यवसायीले नमानेको शैँजु स्मरण गर्छन्।

“भारतमा धेरै कुरा सहज हुँदा पनि निकै प्रयत्न गरेपछि मात्र व्यापारीहरू स्थानान्तरण भएका थिए। त्यसैले चीनमा पनि निकै चुनौती देखिन्छ,” शैँजुले भने।

शर्मा पनि व्यापारीले धेरै कुरा विचार गरेर आयात वा निर्यात गर्ने भएकाले समस्या देख्छन्।

“भारतीय अधिकारीहरूका अनुसार भारतीय बन्दरगाहमा ५६ वटा विभिन्न खाले व्यक्ति र निकायको भूमिका हुन्छ,” शर्माले भने।

“तर चीनका हकमा कति यस्ता निकाय छन् र कसरी काम गर्छन् त्यो पनि त थाहा छैन।”

बि बि सी नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button