ह्यारी र मेगनः दुई जनाको भावी भूमिकासम्बन्धी वार्तामा ‘प्रगति’

ड्यूक र डचिस अफ ससिक्सले ब्रिटिश राजपरिवारले भविष्यमा आफ्नो भूमिका के हुन्छ भन्ने विषय वार्तामार्फत् ढिलोचाँडो टुङ्गो लगाउने आफ्नो विश्वास रहेको बताएको एउटा स्रोतले पीए समाचारसंस्थालाई जनाएको छ।
बैठकहरू सकारात्मक ढङ्गले अघि बढिरहेको बताइएको छ।
ह्यारी र मार्कलले आफूले राजपरिवारको ‘वरिष्ठ सदस्य’ को भूमिका परित्याग गर्ने र बाँकी समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरिसकेका छन्।
वार्ताहरू जारी रहँदा मेगन क्यानडा फर्केर छोरा आर्चीसँग बसिरहेकी छन्।
शाही भूमिकाबाट छ साता बिदा लिएर मङ्गलवार यूके फर्कनुअघि यो परिवारले क्रिस्मस क्यानडामा मनाएको थियो।
राजकुमार ह्यारी र मेगन मार्कलको शाही जिम्मेवारी त्याग्ने घोषणा, राजपरिवार ‘दु:खी’
महारानीले समाधान खोज्दै गर्दा मेगन मार्कल क्यानडा फिर्ता
बीबीसीका शाही संवाददाता निकोलस विचलका अनुसार महारानी, प्रिन्सेस अफ वेल्स र ड्यूक अफ केम्ब्रिजले ससिक्स दरबारमा कार्यरत वरिष्ठ कर्मचारी तथा सरकारलाई केही दिनभित्रै समाधान खोज्न भनेका छन्।
ड्यूक र डचिसबारे कुरा गर्दै एउटा स्रोतले पीए समाचारसंस्थालाई भन्योः “अरूलाई जस्तै उहाँहरूलाई पनि यसको समाधान ढिलोचाँडो निस्कने विश्वास रहेको छ।”
“समाधान सबैको हितमा छ र त्यो छिट्टै होओस्। तर नतिजा निकाल्नैका लागि सम्झौता गर्न नपरोस्।”
यसैबीच यी दम्पतीको आधिकारिक इन्स्टाग्राम खातामा उनीहरूका तस्वीर सार्वजनिक गर्न थालिएको छ।
पश्चिमी लन्डनको केन्सिङ्गटनस्थित एउटा सामुदायिक भान्सामा पुगेका दम्पतीको एउटा तस्वीर सार्वजनिक भएको छ।
सो भान्सामा ग्रेनफल टावरमा भएको आगलागीका कारण विस्थापित भएका मानिसहरूका लागि खाना बनाउने गरिएको छ।
बुधवार जारी गरेको एउटा वक्तव्यमा ड्यूक र डचिसले सञ्चारमाध्यमसँग कुराकानी गर्न र सामाजिक सञ्जाल इन्स्टाग्राम चलाउन परिमार्जित शैली अपनाउने बताएका थिए। इन्स्टाग्राममा उनीहरूका एक करोडजति फलोअर छन्।
बि बि सी नेपाली