६ हजार वर्ष अगाडिको ‘चुइङ गम’ ले पत्ता लगायो प्राचीन युवतीको स्वरुप !



बीबीसी । वैज्ञानिकहरुले प्राचीन कालमा ‘चुइिङ गम’ को काम गर्ने खाद्य पदार्थमार्फत एक ६ हजार वर्ष अगाडिकी महिलाबारे अनौठो तथ्य पत्ता लगाएका छन् ।  सो चुइङ गममा रहेको दाँतको निशानबाटै उनीहरुले ती युवतीको डीएनए पत्ता लगाइ जेनेटिक कोडको खोजी गर्न सफल भएका थिए ।
अनुसन्धानकर्ताहरुका अनुसार मान्छेको हड्डी नभएर अन्यत्रै वस्तुमार्फत एउटा पूरै मानव जिनबारे पत्ता लगाइएको यो पहिलो घटना हो ।


यस्तोमा वैज्ञानिकहरुले ती युवतीको आँखा नीलो भएको र छाला अनि कपालको रङ कालो भएको विशेष जिनमार्फत् थाहा पाएका हुन् ।  तिनै जानकारीमार्फत एक चित्रकारले सो युवतीको स्वरुप बनाएका हुन् जसलाई ‘लोला’ नाम दिइएको छ ।  उनको अन्तिम खाना हेजलनट्स अर्थात कटुस र हाँसको मासु रहेको थियो तर पचाउन नसक्ने भएकाले दूधजन्य खानेकुरा चाहिँ कहिल्यै सेवन नगरेको बताइएको छ ।

युनिभर्सिटी अफ कोपेनहागेनका डाक्टर हानेस स्क्रोएडारका अनुसार उक्त प्राचीन चुइङ गम रुखको टारबाट बनाइएको थियो जसलाई नै अहिले हामीले खाने चुइङ गमका रुपमा प्रयोग गरिएको हो । त्यतिबेलाका कुनै मान्छेको अवशेष फेला नपरेको अवस्थामा सो चुइङगमबाट प्राप्त डीएनए वास्तवमै अत्यन्तै महत्वपूर्ण साबित भएको उनको भनाइ छ ।

किनकि सो क्षेत्र डेनमार्कको सबैभन्दा पुरातात्विक मानिएतापनि हालसम्म मानव शेष भेटिएको थिएन । यसमा वैज्ञानिकहरुले जेनेटिक कोडबाटै उनको रुप र आकृतिबारे अनुमान लगाउन सकेका हुन् ।  साथै डिएनएबाटै त्यसबेला मुख्य रुपमा खाइने खाना कटुस र एक प्रजातिको हाँस रहेको जानकारी पनि प्राप्त भएको हो ।
यसबारे विस्तृत रुपमा जर्नल ‘नेचर कम्युनिकेसन’ मा प्रकाशित गरिएको छ ।

विशेष किसिमका जिनबाटै उनीहरुले सो युवतीको कपाल, आँखालगायतका शारीरिक विशेषता पत्ता लगाएका हुन् । यसरी सो डीएनएबाट तिनको मुखमा रहेका मानवीय ब्याक्टेरिया सम्बन्धी पनि थप जानकारी हासिल गर्न सकेको बताइएको छ । उनका मुखमा ज्वरो र निमोनिया निम्त्याउन सक्ने विभिन्न किसमका भाइरस थिए ।

रुखको टारमा केही एन्टिसेप्टिभ गुण हुने हुँदा दाँतको समस्या हुनेले पनि त्यसलाई चबाउने गरेको हुन सक्ने बताइएको छ । प्राचीन समयमा यसलाई प्रायः गमका रुपमा केही कुरा टाँस्नका लागि प्रयोग गर्ने गरिन्थ्यो जुन तातो हुँदा पग्लिन्छ भने चिसो हुँदा कडा बन्छ ।  यस्तोमा सो चुइङ गमले टाइम क्याप्सुल जस्तै काम गरेको बताउँदै वैज्ञानिकहरुले उत्साहजनक प्रतिक्रिया दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button