स्वस्थ र दीर्घ जीवनका लागि अर्गानिक



नेपालीको खानपान शैलीमा धेरै परिवर्तन आएको छ। खासगरी बजारबाट तयारी खानेकुरा किनेर खाने प्रचलन राम्रो÷नराम्रो के हो भन्ने विषयमा धेरैले चासो दिन थालेका छन्।


अर्गानिक खानाको परिकार पस्किने होटल तथा रेस्टुरेन्टलाई अहिले भ्याइनभ्याइ छ। अर्गानिक खाना खानुपर्छ भन्ने चेतनामा वृद्धि भएको छ। केही वर्षअघिसम्म तरकारी तथा खाद्यन्नमा अत्यधिक विषादी र रासायनिक मल प्रयोग गरेर उत्पादन बढाइन्थ्यो भने अहिले क्रमशः अर्गानिक खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ।

अर्गानिक वस्तुको महत्व उपभोक्ताले महत्व नबुझेको अवस्थाले गर्दा सस्तो मूल्यमा बाहिरबाट बजारमा आएका विषादीयुक्त तरकारी नै बढी बिक्थ्यो। अर्गानिक उत्पादनले लगानी उठाउन समेत समस्या पथ्र्यो। तर अहिले त्यो स्थिति कम हुँदै गएको छ। अर्गानिक खाद्य वस्तु तथा तरकारी खोजीखोजी खाने उपभोक्ता बढ्दै छन्।

अर्गानिक खाद्य स्टोर, अर्गानिक तरकारी तथा फलफूल पसल, होमस्टे, रिसोर्ट र रेस्टुरेन्टहरु व्यापक खुलेका छन्। खाद्य तथा तरकारी, फलफूलमा अत्यधिक विषादी प्रयोगका कारण क्यान्सर तथा अन्य रोगको शिकार हुनुपर्दा उत्पादकहरुमा पनि चेतनामा वृद्धि हुँदै गएको छ। रसायिनिक खेती गर्दा खानेलाई मात्र नभई किसानलाई समेत स्वास्थ्यमा अधिक असर परेको महसुस भएपछि अर्गानिक खेतीमा आकर्षण बढ्दै गएको हो।

कोदोलाई धेरैजसो मानिसले राम्रो अन्न मान्दैनन्। तिनीहरू यसको गुणमा होइन, रङमा गएकाले त्यस्तो भएको बुझ्न गाह्रो छैन। तर कोदो आम मान्छेले सोचेजस्तो कम गुणकारी खाद्यान्न भने होइन। यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८ दशमलब ७३ गुणा बढी क्याल्सियम पाइन्छ। कोदोमा मकैभन्दा ३ दशमलब ७ गुणा, चामलभन्दा २ दशमलब ३ गुणा र गहुँभन्दा १ दशमलब ५ गुणा बढी आइरन पाइन्छ।

मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो। यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ। कोदो जस्तै तिते फापर, मिठे फापर, जौ, कालो भङगरे चामल (जसमा अत्यधिक मात्रमा क्यालोरी पाइन्छ), मकै, सिस्नो, नियुरो, घैया, अटारलागायताका ग्रामीण भेगमा उत्पादन हुने अर्गानिक खाद्यान्न अहिले सहरमा पनि निकै लोकप्रिय हुन थालेका छन्।

रासायनिक मल नहाली स्थानीय गाईभैंसीको भकारो र स्याउलाबाट बनेको प्रांगारिक मल प्रयोग गरिने र किटानासक औषधि पनि प्रयोग नगरिने हुँदा यस्ता खाद्यान्नलाई अर्गानिक मानिन्छ। यस्ता खाद्यान्नले मानव शरीरलाई कुनै हानि नपु¥याउने र दीर्घायु जीवन हुनेहुँदा आधुनिक समाजमा अर्गानिकको महत्व बढ्दै गएको हो।

कस्तो अवस्थामा विषादीको प्रयोग कसरी गर्ने, प्रयोग गरिसकेपछि कति दिनपछि मात्र उपयोगमा ल्याउने, कृषक आफैँले खेतबारीमा गरेर सिक्ने, बाली–बिरुवाको नियमित अवलोकन, बाली–बिरुवामा लाग्ने सत्रु जीव र मित्रु जीवको पहिचान, अर्गानिक कृषि उत्पादन, विषादीको न्यूनीकरणजस्ता ज्ञान, सिप कृषकलाई सिकाइन कृषि विकास कार्यालयले पनि देशैभर पाठशाला सुरु गरेको छ।

उपभोक्ता र किसानले नै नबुझेसम्म कृषि विकास कार्यालयले जस्तोसुकै अभियान सञ्चालन गरे पनि विषादीको प्रयोग निर्मूल पार्न गाह्रो हुने विज्ञहरु बताउँछन्।

विशेषगरी ग्रामीण भेगमा उत्पादन हुने मकै, भटमास, लोकल कुखुरा, लोकल बोका, सहर माछाका परिकारका साथै कोदो, मकै र फापरको ढिँडोका पारखीहरुले बढी मात्रामा रुचाएको अर्गानिक रेस्टुरेन्ट सञ्चालकहरु बताउँछन्। सामान्य लोकल कम्पनी छ, कुनै पनि अर्गानिक भनी गुणस्तर चिह्न लिएको छैन भने त्यस्ता कम्पनीले उत्पादन गरेको फुड सुरक्षित नहुन पनि सक्छन्। प्रायः ग्रामीण इलाकामा उत्पादन गरिएको प्याकेट फुडहरु सुरक्षित अर्गानिक र गुणस्तरीय नै हुन्छन्। तर यसमा स्ट्यान्डर लिएको वा नलिएको र म्याद गुज्रिएको छ कि छैन भन्ने कुरा लेबल हेरेर बुझ्नुपर्छ।

सरकारले निर्धारण गरेको मापदण्डअनुसार बनेका प्रोसेस्ड फुडहरु सुरक्षित र अर्गानिक हुन्छन्। दुधजन्य पदार्थहरुमा पास्चराइजेसन भएको छ कि छैन, फ्याट, एसएनएफलगायतका अन्य पदार्थहरु कति रहेका छन्, लेबलमै लेखिएको हुन्छ। खाद्य ऐन र गुणस्तर ऐनलाई आधार मानी मापदण्ड निर्धारण गर्ने खाद्य तथा गुण नियन्त्रण विभाग र गुणस्तर विभाग रहेका छन्।

अर्गानिक रेस्टुरेन्ट, अर्गानिक फार्म हाउस, अर्गानिक चिया, अर्गानिक कफी सप अर्गानिक रिसोर्टहरु मात्र नभई अहिले द्रुत गतिमा गाउँगाउँमा होमस्टेहरु पनि खुलेका छन्। होमस्टेमा गाउँघरमै उत्पादन भएका कोदो, मकै, चामल, गहुँ, जौलगायत अर्गानिक रुपमा उत्पादन गरिएका तरकारीबाट विभिन्न प्रकारका खाना तयार गर्ने गरिन्छ।

होमस्टेहरुमा विदेशी पाहुनालगायत स्वदेशी पनि त्यतिकै हुन्छन्। होमस्टेको वरिपरी लगाइएको अर्गानिक तरकारी र माछामासु आफंैले भान्सामा तयार गरी खाने चलन पनि सुरु भएको छ, जुन अत्यन्त व्यावहारिक पनि मानिएको छ। काठमान्डौबाट नजिकका जिल्लाहरुमा व्यापक रुपमा खुलेका होमस्टेहरुले सकेसम्म पूर्ण रुपमा अर्गानिक खाना पस्कने गर्छन्।

नेपालमा अलिकति योजना बनाएर काम गर्नसके जुनसुकै व्यवसायको बजार भविष्य सुन्दर छ। विकासशील मुलुक हुनुका कारण पनि धरै अवसर र सम्भावनाहरु छन्। आफ्नै घरआँगनमा बसेर आफ्नो माटोको उत्पादनलाई आफ्नै परिचय दिनसक्नु नै महान हो भन्ने ठानेर कतिपय नेपाली युवाले विदेशको ग्रिनकार्ड त्यागेर अर्गानिक खेती सुरु गरेका छन्।
वैज्ञानिक अनुसन्धान र अनुगमनको अभावका कारण कर्णालीको उत्पादनको पहिचान र सदुपयोग हुन सकेको छैन। हामी विदेशका भनेपछि मरिहत्ते गर्दछौं तर, आफ्नै देशको पोषक तत्वलाई चिन्न सक्दैनौं, बुझेका छैनौं। त्यसै खेर गइरहेको अवस्था छ, हुम्ला, जुम्ला उत्पादित गुणस्तरीय स्याउ। तर कमसल स्याउ आयात गरेर जुस तथा वाइन उत्पादन हुन्छ। त्यहाँको उत्पादन कुहिएको छ, यता अर्बौं रुपैयाँको फलफूल आयात हुन्छ। सरकारको बजेट कता प्रयोग हुन्छ खै ?

कर्णालीमा उत्पादित ओखर, ब्ल्याक राइस, स्याउलगायतका विभिन्न फलफूल तथा अर्गानिक अनाजलाई विश्व बजारमा प्रबद्र्धन गर्न सक्नुपर्छ। त्यो एउटा किसानले मात्र सम्भव छैन, राज्यले पूर्ण सहयोग गर्नुपर्छ। सरकारले कर्णालीमा सरकार चामल बाँडेर बस्ने होइन, त्यहाँका किसानलाई प्रोत्साहन गर्नुपर्छ र उचित बजारको व्यवस्था गरिदिनुपर्छ।

अहिले कर्णालीमा स्याउबाट जुस, वाइन, ब्रान्डी तथा अर्गानिक गेडागुडी उत्पादन गरी बजारमा ल्याउन सुरु गरिएको छ। कर्णालीका व्यवसायीले स्थानीय किसानको सहभागितासहित अर्गानिक फुड चेनको विकास गर्दै लैजाने योजना बनाएका छन्। सयौंको रोजगार सिर्जनादेखि कस्टुमरमा विश्वसनियता पनि बढेर जाने उनीहरुको विश्वास छ।

कर्णालीमा हिमालको स्वच्छ पानीले बनेको उच्च गुणस्तरको उत्पादन हुने हुँदा त्यहाँका उत्पादन स्वदेशी तथा विदेशीको प्रिय बन्दै गएको छ। स्थानीय या केन्द्रीय सरकारले अर्गानिक खाद्य पदार्थ उत्पादनमा सहुलियत प्रदान गरेमा राजधानीका उपभोक्ताले पनि सरल भाउमा अर्गानिक सामान पाउने थिए।

नेपाल र भारतबीच व्यापार घाटा बढिरहेको छ। दुर्गम क्षेत्रमा अर्गानिक खाद्यान्न उत्पादन गरी भारत निर्यात गर्न सके पनि धेरै राहत पुग्ने छ। ग्रामीण क्षेत्रमा खेर जाने फलफूललाई सदुपयोग गरी केमिकल, कलर, तथा सुगर फ्रि वाइन बनाएर निर्यात गर्न सके आर्थिक रुपमा पनि निकै राहत पुग्ने छ।

अमेरिकाको अति गरिब जिल्ला साउथ ब्रङ्कस्को सामुदायिक विद्यालयमा पढाउँदै गरेका एक शिक्षक स्टेफेन रिजले गरिब बस्तीमा आसाको बिउ उमार्दाको अनुभव यसरी व्यक्त गरेका छन्, ‘म अन्नको खेती गर्ने किसान होइन। म मानिसहरूको खेती गर्छु। मैले फलाउने अन्न भनेको अर्गानिक तवरले हुर्कंदै गरेका नागरिकहरू हुन्। हामी भित्र र बाहिर दुवै ठाउँमा अर्गानिक बिरुवा उमार्छौं। बोटबिरुवा उमार्ने कलिला युवा किसानहरू भेट्दा तपाईं दङ्ग पर्नुहुने छ। हामीले हामी बस्ने समुदाय वरिपरि रङ्गीविरङ्गी फूल, बोटबिरुवा र रुखहरू रोपेका छौँ। हामीले पर्याप्त खाद्यान्न हाम्रै जिल्लामा उत्पादन गरेका छौँ, जसले गर्दा संकटग्रस्त ठाउँमा ताजा र अर्गानिक  खानेकुराहरू सहयोगस्वरुप पठाउन सम्भव भएको छ।’

स्वास्थ्य खवरपत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button