नक्कली डाक्टर बनेर बिरामीको उपचार गरेको आरोपमा एक जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
पर्सा
प्रहरीले वीरगञ्जबाट नक्कली डाक्टर बनेर बिरामीको उपचार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । डाक्टर शिवशंकर यादव हुँ भनी बिरामीको उचार गर्ने बिन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।


उनलाई दुई दिन अघि असोज २३ गते नै प्रहरीले पक्राउ गरेको भएपनि आज सार्वजनिक गरेको छ । वीरगञ्ज–२ छपकैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा कार्यरत रहेको र उनि आफैंले बिरामीहरुको चेकजाँच गरी औषधि उपचार तथा गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड समेत गर्ने गरेको उजुरी को आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

डाक्टरको नाम प्रयोग गरेर आफैंले बिरामी चेकजाँच गरेर बिरामी र आफन्तलाई ठग्ने गरेको गुनासो आएपछि नारदको बिषयमा अनुसन्धान गर्दा उनले ‘सीएमए मात्रै पढेकोे डाक्टरको नाममा सबै काम आफैंले गर्दै आएका खुलेको छ ।

उनी विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ को दफा २३० सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरिएको र थप अनुसन्धानका लागि अदालतले उनलाई ७ दिनको म्याद दिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button