छोरीले बुवाको पार्थिव शरीर बोकेर घाट पुगे

मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषाको सबैला नगरपालिका २ का रामनारायण यादवको मंगलबार मृत्यु भएको छ । उनको
मृत्यु पछी पार्थिव शरीरलाई पाँचजना छोरीहरुले काँधमा बोकेर दाहसंस्कार गर्न खोलासम्म र्पुयाएका छन । हिन्दु तथा मधेसी समाजमा अहिले पनि कसैको निधन भएमा छोरीले दाहसंस्कार स्थलसम्म पुर्याउने गरेकोे चलन छैन। महिलालाई मलामी समेत जान दिईदैन बाटोबाटै फकाईन्छ । तर, पुरानो संस्कारलाई चुनौती दिँदै बुवाको शव बोकेर छोरी दाहसंस्कार स्थलसम्म पुग्नुलाई महिला सशक्तीकरणको रूपमा विश्लेषण गरिएको छ । रामनारायणको निधन भएपछि दाहसंस्कार कसरी गर्ने विषयमा गाउँमा छलफल नै भयो। छोरा नभएकाले रामनारायणको पार्थिव शरीरको दाहसंस्कार स्थलसम्म छोरीले नै र्पुयाउने निष्कर्ष निस्किएपछी छोरीहरूले समेत चासो देखाएर उनीहरू आफैँ दाहसंस्कार गर्न बुवाको पार्थिव शरीर बोकेर हिड्न तयार भए। जेठी छोरी ४० वर्षीया नेपुर यादव, माइली छोरी ३७ वर्षीया राजदेवी यादव, साहिँली छोरी ३५ वर्षीया प्रमिला यादव, काहिँली छोरी ३२ वर्षीया अनिता यादव र कान्छी छोरी ३० वर्षीया गोरकी यादवले बुवाको पार्थिव शरीर बोकेर दाहसंस्कार स्थलसम्म र्पुयाएका थिए। अचम्म त के भने, रामनारायणको पार्थिव शरीरमा दागबत्ती उनकै श्रीमती राधिकादेवीले दिएकी छन्। मधेसमा श्रीमतीले दागबत्ती दिएको कहिल्यै नसुनेको स्थानीयहरुको भनाई छ । रामनारायण नेपाली कांग्रेसका क्रियाशिल सदस्य थिए। छोरीले बुवाको पार्थिव शरीर बोकेको तस्वीर स्थानीय जगत सुन्दर साहले सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्।