लालबन्दी नगरपालिकाले जन्मेकै दिन घरमै गएर जन्म दर्ता र शिक्षा वीमा



रितिक अधिकारी
सर्लाही
प्रदेश नं. २ सरकारले सुरु गरेको “मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान” सर्लाहीको लालबन्दी नगरपालिकामा एक छोरीको जन्मेकै दिन घरमै गएर नगरपालिकाले जन्मदर्ता र शिक्षा बीमा गरेको छ ।
“मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान” प्रदेशभरी सञ्चालन सुरु भएको र सो अभियानलाई सार्थक पार्न नगरले फरक तरिकाबाट काम सुरु गरेको हो । नगरको छोरी शिक्षा बीमा शिविर सप्ताह कार्यक्रमको अन्तिम दिन लालबन्दी नगरपालिकाकोे अति विकट क्षेत्र नारायणखोलामा छोरीको जन्मेकै दिन घरमै गएर नगरपालिकाको टोलिले जन्मदर्ता र शिक्षा बीमा गरेको नगरपालिकाका कम्प्युटर अपरेटर कोमलहरी गौतमले बताए ।
लालबन्दी नगरपालिका वडा नं. १४ मा शनिबार सञ्चालन भएको उक्त शिविरमा सोही स्थान निवासी तिर्थ बहादुर घिसिङ्ग र श्रीमति संगीता माया थिङको पहिलो सन्तानको रुपमा जन्मीएकी छोरीको नगरपालिकाको टोलिले घरमै पुगेर छोरीको नाम विमा कुमारी राख्नुका साथै जन्मदर्ता र छोरी शिक्षा बीमा गरि दिएको गौतमले बताए ।
शनिबार विहान सुत्केरी भएकी संगीताको सालनाल अड्कीएर प्रशव वेथामा रहेको अवस्थामा शिविरमा तैनाथ रहेको नगरपालिकाको स्वास्थ्य सह–संयोजक सुरेन्द्र खतिवडा सहितको स्वास्थ्य टोलिले घरमै गई प्रसुति सेवा समेत प्रदान गरेको हो । वडा नम्बर १४ का वडा अध्यक्ष सुबाई सिंह ब्लोनले जन्म भएकै दिन शिविरमा आएर बीमा गर्न सक्ने अवस्था नभएको बताए पछी नगरपालिकाको टोलिले घरमै गएर जन्म दर्ता र छोरी शिक्षा विमा गरिदिएको हो।
मोटरबाटाकोे समेत सेवा नभएको उक्त विकट वडामा शनिबार १ दिन छुट्टै शिविर संचालन गरिएको थियो। वडाबासीहरुको सेवालाई लक्षीत गरि नगर प्रमुख मान बहादुर खड्को पहलमा उक्त वडाको लागी शनिबार १ दिन छुट्टै शिविर संचालन गरिएको छोरी शिक्षा बिमा कार्यक्रमका सर्लाही जिल्ला संयोजक देव विलाश यादवले बताए ।
स्थानीय तहको निर्वाचनमा मतपेटीका हेलिकप्टरबाट नगरपालिका केन्द्रसम्म ल्याईएको जिल्लाको कर्णाली भनेर चिनिने उक्त वडामा हालसम्म पनि मोटरबाटो पुग्न सकेको छैन । नगरपालिकामा यस अघि माघ ११ र माघ १२ गते सञ्चालन भएको शिविरमा उक्त वडा बाहेक जम्मा २ सय ४४ जना छोरीहरुको बीमा गरिएको थियो भने शनिबार सञ्चालन भएको शिविरमा १४ जना छोरीहरुको बीमा गरिएको छ । बिमा गर्ने छोरी र उनका अभिभावकको फोटो समेत खिचेर निःशुल्क उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button