छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुंदा ४ जनाको मृत्यु



सवारी दुर्घटनामा परेर हिजो र आज गरी देशभरको चार वटा छुट्टाछुट्टै स्थानमा ४ जनाको मृत्यु भएको छ । सवारी दुर्घटना महोत्तरी,सर्लाही, कञ्चनपुर र नवलपरासीमा भएको थियो ।


दुर्घटना नम्बर १
महोत्तरीको एकडारा गाउँपालिका १ मा ज.१ त ९८६१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बेलुका दुर्घटना हुँदा ट्याक्टरमा सवार धनुषा तुल्सियाही बस्ने २१ वर्षीय रामकुमार महतोको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भिर घाइते भएका महतोलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यलय बर्दिबासले जनाएको छ ।

दुर्घटना नम्बर २
सर्लाहीको लालबन्दी नगरपालिका १० मा ना.२ ह ४३६३ नम्बरको अटोबाट बिहीबार दिउँसो लडेर नाम,थर,वतन केही नखुलेको अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको छ । गम्भीर घाइते उनको टेकसास अस्पताल लालबन्दीबाट रेफर गरेर थप उपचार जनकपूरको समर अस्पतालमा हुंदै गर्दा मृत्यु भएको थियो । प्रहरीले अटो र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

दुर्घटना नम्बर ३
आफ्नै विवाहको निम्तो दिन जाने क्रममा साइकलमा सवार २० वर्षीय रमिता भट्टको मृत्यू भएको छ । उनको कञ्चनपुरको भिमदत्त नगरपालिका ४ को चम्मनचोकस्थित सडकमा बिहीबार दिउँसो से.१ क ८८७ नम्बरको टिपरको ठक्करबाट ज्यान गएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी भट्टको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । उनी बैतडी दशरथचन्द नगरपालिका १ गुरुखोला घर भई हाल भीमदत्त नगरपालिका १८ गोबरियामा बस्दै आएकी थिइन् । उनको विवाह यहीं माघ १३ गते हुदै थियो ।

दुर्घटना नम्बर ४
यसैगरी नवलपरासीको गैंडाकोट नगरपालिका १० पितौजीमा शुक्रबार बिहान ना.२ ख ९२६४ नम्बरको ट्रकको ठक्करबाट नाम, थर, वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल चितवनमा उपचार हुदै गर्दा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button