सङ्घीय–संसद्को पाँचौँ अधिवेशन शुक्रबारदेखि सुरु



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
सङ्घीय–संसद्को पाँचौँ अधिवेशन शुक्रबारदेखि सुरुहुने भएको छ । अधिवेशनकालागी सभामुख चयन र सदनको कामकारबाहीका विषयमा सचिवालयले तयारी गर्न थालेको छ । पहिलो बैठकको कार्यसूचीबारे सचिवालय गृहकार्यमा रहे पनि सभामुख चयनबारे राजनीतिक वृत्तमा औपचारिक रूपमा विषय प्रवेश पाएको छैन । शीर्ष तहमा भने केही परामर्श भइरहेका छन् ।
संवैधानिक प्रावधान अनुसार सभामुख र उपसभामुख फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ । यसअघि तत्कालीन माओवादी केन्द्रबाट सभामुख र एमालेबाट उप सभामुख चयन भएका थिए । सभामुखको स्थान बीचमै रिक्त भएपछि पुनः चयन गर्नुपर्ने अवस्था छ । औपचारिक प्रक्रिया कहिले सुरु गर्ने यकिन भइसकेको छैन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नै सभामुखमा उम्मेदवार उठाउन उपसभामुखको राजीनामा अनिवार्य छ ।
तर, उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले औपचारिक रूपमा कुनै परामर्श नभएको बताएकी छिन । उनले “संविधान कार्यान्वयन मेरो पनि दायित्व हो । यसप्रति म सचेत छु । अहिलेसम्म राजीनामाको विषयमा औपचारिक रूपमा कुनै परामर्श भएको छैन । नयाँ सभामुख चयनको कार्यतालिका नआएसम्म राजीनामा हुँदैन । ”
राजीनामाबारे दलले पनि औपचारिक रूपमा कुनै पनि निर्णय निर्देशन नगरेको उनकोे भनाइ छ । पुसको पहिलो साताभित्र सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक हुने छ ।संसद् सचिवालय र राजनीतिक दलबीच यसवारे कुनै परामर्श भएको छैन । अधिवेशनको दिन बिहान नै राजनीतिक दलहरूसँग अनौपचारिक रूपमा विषय, कार्यतालिका लगायतमा छलफल गर्ने तयारी उपसभामुखको छ । राजनीतिक दलसँगको परामर्शका आधारमा कार्य तालिका लगायतका विषयले टुङ्गो पाउने छन् । तर, नेकपाका एक नेताले भने यही पुस ६ गतेको बैठकबाट सभामुख चयनको कार्यतालिका सार्वजनिक हुने दाबी गरेका छन ।


उपसभामुखबाटै अध्यक्षता
सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्ने संवैधानिक प्रावधानअनुसार नै तुम्बाहाङ्फेले अधिवेशनको पहिलो बैठक सञ्चालन गर्ने छिन। संविधानको धारा ९१ (४) अनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्न ब्यवस्था छ ।
सभामुख तथा उपसभामुख दुवै रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन हुने छ । धारा ९१ (५) मा सभामुख तथा उपसभामुखको निर्वाचन नभएमा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने व्यवस्था छ ।
प्रतिनिधि सभा नियमावलीले बैठकको सुरुआत र अन्त्य सभामुखबाटै गर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था संविधान प्रतिकूल रहेको भन्दै कानुनका जानकारहरूले उपसभामुखलाई बैठक सञ्चालन गर्न सक्ने सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button