सम्राज्ञीविरुद्ध भुवन केसीको मुद्धा : १० करोडको क्षतिपूर्ति माग, कस्तो छ कानुनी व्यवस्था ?



काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गरेका छन् ।


सम्राज्ञीले आफुलाई दुर्व्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिएका छन् ।

कस्तो छ कानुनी व्यवस्था ?

मुलुकी अपराध संहिता, २०६४ को  गाली बेइज्जतिसम्बन्धी कसूरको बेइज्जति गरेमा हुने सजाय (१) मा कसैले कसैको बेइज्जति गरे वा गराइमा निजलाई दुई वर्षसम्मको कैद वा २० हजारसम्मको जरिवाना वा दुवै हुने व्यवस्था छ । तर विद्युतीय माध्यमबाट व अन्य आमसञ्चारका माध्यमबाट बेइज्जति गरे वा गराएमा निजलाई त्यस्तो सजायको थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

बेइज्जति गरेमा हुने सजाय (२) मा कसैले कसैलाई बेइज्जति गरे वा गराएको ठहरिएमा बेइज्जति गरिएको व्यक्तिलाई कसूरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जति गरेको भएमा त्यस्तो कुरासमेतलाई विचार गरी कसूरदारबाट मनासिब क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्दामा लागेको खर्चसमेत भराउनुपर्नेछ भन्ने व्यवस्था छ ।

सूचना अधिकारी कार्कीका अनुसार नायक केसीले यही व्यस्थालाई टेकेर रु १० करोड क्षतिपूर्ति माग गरेका हुन् । नायक केसीले आफ्नो चरित्र हत्या गरेको आरोप लगाउँदै सम्राज्ञीले कलाकार सङ्घमा उजुरी दिएकी थिइन् । सम्राज्ञी र भुवनको यो विवाद अब चलचित्र सङ्घ हुदै अदालतसम्म पुगेको हो ।

के हि विवाद ?

अभिनेत्री साम्राज्ञी आरएल शाहले सदाबहार नायक, निर्देशक तथा निर्माता भुवन केसीमाथि केहि साता अघि दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

सामाजिक संजाल इन्स्टाग्राममा एक भिडियो पोष्ट गर्दै सम्राज्ञीले फिल्म ड्रिम्सको समयमा आफूमाथि दुर्व्यबहार भएको आरोप लगाएकी हुन् ।

सम्राज्ञीको आरोपपछि भुवन केसीले फेसबुकमा आक्रोशपूर्ण स्टाटस लेख्दै ‘ड्रिम्स’को नाम बेचेर अहिलेसम्म खाइरहेको आरोप लगाएका थिए ।

‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै भूवन केसीले फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !!’

भुवनको प्रतिक्रियापछि सम्राज्ञीले जवाफ फर्काउदै भनेकी थिइन्, ‘एक जनाले के भन्नुभएको छ भने जुन थालमा खायो त्यही थालमा दुलो पार्‍यो । उहाँले मसँग राम्रो व्यवहार गर्नुभएको थियो भने यो अवस्था आउने नै थिएन । आज यो अवस्था आएकै उहाँले गर्दा हो ।’
उनले भिडियोमा भुवन केसीको नाम भने उच्चारण गरेकी छैनन् ।

सम्राज्ञीले जापान अवार्डमा भुवन केसीले आफूमाथि नराम्रो व्यवहार गरेको आरोप पनि लगाएपछि यो विषय निकै बहस र चर्चाको विषय बनेको थियो ।

अवार्डमा अभिनेता केसीले भनेको कुरा सम्झँदै उनले भनेकी छन्, ‘तँ त मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस् यस्तो कुरा नगर भनेर मलाई सम्झाउनुभयो । त्यतिबेला मलाई भित्रैदेखि घिन लागिरहेको थियो । तै पनि हाँसेर बोलेँ ।’

साम्राज्ञीले अगाडी भनेकी छन्, ‘ती कुराहरु अलि टाढाबाट पनि भन्न सकिन्छ नी । गाला जोड्याएर, टाँस्सिएरै भन्नु पर्छ र ? छोरी अब यस्तो नगर है भन्दै गालामा मुख जोड्याएरै भनिराख्नुभएको थियो । तै पनि म सुनिरहेँ । उहाँलाई ‘अंकल’ भन्दा मन पर्दैन । त्यसैले मैले उहाँलाई ‘हुन्छ दाई’ भन्दै धकलेँ ।’

विभिन्न आरोप प्रत्यारोपणका बीच यस बिचमा भुवन केसीले विभिन्न अन्तर्वार्ता दिदै आफु निर्दोष भएको र यो उमेरमा आएर आफुले यस्तो आरोप खेप्नु परेको भन्दै दुख व्यक्त गरिरहेको देखियो भने सम्राज्ञी आफ्नो आरोपमा अडीक नै रहेको देखियो । अब अदालतमा पुगेपछि यो प्रसंग थप चर्चामा रहिरहने देखिएको छ ।  खरी बाेट बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close