जनकपुरमा निषेधाज्ञाका बेला गुठीको जग्गा अतिक्रमण बढ्यो, ३५ वटा घरटहरा हटाइयो



निषेधाज्ञाका बेला गुठी संस्थानको जग्गामा छाप्रो बनाई अतिक्रमण गर्नेलाई प्रहरी परिचालन गरेर बिहीबार खाली गराइएको छ । जनकपुरको कुवा मठ (कुटेश्वर महादेवको मन्दिर) को गुठीको जग्गा अतिक्रमण गरेर केही वर्षअघि घर बनाइएको थियो । निषेधाज्ञाका बेला अतिक्रमण झन् बढेको थियो ।


गुठी संस्थानले अतिक्रमण हटाउन धनुषा प्रहरीलाई पत्राचार गरेपछि बिहीबार बिहानै त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरियो । धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटका अनुसार अतिक्रमण हटाउने क्रममा स्थानीयले अवरोध गर्दा सामान्य बल प्रयोग गरिएको थियो । ‘गुठी संस्थानको जग्गा अतिक्रमण गरी बनाइएको करिब ३५ वटा घर डोजर लगाएर भत्काइएको छ,’ एसपी रानाभाटले भने, ‘त्यसमा दुईवटा ठूलो पक्की घर र बाँकी छाप्रो र टहरा हुन् ।’

जनकपुरको हनुमाननगरस्थित गुठीको कुवा मठसँग करिब २६ बिघा जग्गा छ । गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले मठको १८ बिघा जग्गा अतिक्रमणमा परेको बताए । उनले अतिक्रमण गरेर गुठीको जग्गामा ६० भन्दा बढी पक्की घर र छाप्रो बनाइएको छ । ‘निषेधाज्ञाको मौकामा अतिक्रमण गर्ने क्रम झन् बढ्यो,’ गुठीका प्रवक्ता थपलियाले भने, ‘प्रहरीको सहयोगमा बिहीबार अतिक्रमण आंशिक हटाइएको छ ।’

कुवा मठको पूर्वपट्टिको १८ बिघामा रहेको बस्ती गुठी संस्थानको आग्रहमा धनुषा प्रहरीले बिहीबार अतिक्रमणमुक्त बनाएको छ । संस्थानका प्रवक्ता थपलियाका अनुसार मठको दक्षिणपट्टिको अतिक्रमण गरिएको जग्गा पनि लगत्तै खाली गराइने छ । उनका अनुसार अतिक्रमण हटाउने क्रममा स्थानीयले गुठी संस्थानका कर्मचारीलाई धम्क्याएका छन् । गुठी संस्थानको ३० बिघा ७ कट्ठा १८ धुर जग्गा व्यक्तिले धनुषामा कब्जा गरेर घर बनाएका छन् । जनकपुरमै मात्र ४४ ठाउँमा गुठीको जग्गा अतिक्रमणमा परेको छ । जहाँ व्यक्ति र संघसंस्थाले घर बनाएका छन् ।

राम मन्दिरको भोगचलनमा रहेको गुठीको जग्गा सबभन्दा बढी अतिक्रमणमा परेको छ । राम मन्दिरको १८ ठाउँको जग्गा अतिक्रमणमा परेको हो । राम मन्दिरको ११ बिघा २ कट्ठा ५ धुर जग्गामा व्यक्ति र संघसंस्थाको महल उभिएको छ । यो जग्गामा ३ सय २६ वटा घर बनेको छ । राम मन्दिरअन्तर्गत रहेको गुठीको रामसागर पोखरीको डिलको ३ कट्ठा २ धुर जग्गा कब्जा गरेर २३ वटा निजी घर बनाइएको छ । धनुष सागर पोखरी डिलको २ कट्ठा ३ धुर जग्गामा १२ घर, जनकपुर–६ स्थित गोरधाई पोखरी डिलको ३ कट्ठा १८ धुरमा ७३ घर, पुरन्दर सर पोखरी डिलको ५ कट्ठा १ धुर जग्गामा ३० घर, जनकपुर–७ को लक्की पोखरीको १० बिघा १८ धुरमा ४ घर, जनकपुर–३ स्थित देवान पोखरीको ११ कट्ठा ५ धुरमा ३३ घर बनेको छ ।

गुठी संस्थानकै तथ्यांकअनुसार जनकपुर–४ कदम चोक नजिक ११ कट्ठा १५ धुरमा १३ घर, विषहरा पोखरीको पश्चिम डिलको २ बिघा ७ कट्ठा १ धुरमा महेन्द्र नारायण निधि स्मृति भवनको १६ वटा घर बनेको छ । प्रयोगविहीन बनेपछि स्मृति भवनमा प्रहरीको व्यारेक राखिएको छ । यस्तै, जनकपुर–४ स्थित विद्युत् कार्यालयपूर्वको २ कट्ठा १६ धुरमा १० घर, पिडरीयामाई मन्दिरपूर्वको १४ कट्ठा १५ धुर जग्गामा २२ घर, हनुमान सिनेमा हलको दक्षिणको ३ कट्ठा ७ धुर जग्गा अशोक र सुनिल जलान, जनकपुर–८ बलवा टोलका तीनवटा सिट नम्बरको ४ बिघा, १९ कट्ठा १३ धुर जग्गामा १ सय ३ वटा निजी घर बसेको छ ।

राम मन्दिरको रामसागर पोखरीको उत्तरी डिलको १ कट्ठा राम युवा क्लब र अमरखाना पसल पछाडिको १ कट्ठा ४ धुर जग्गा मिथिला नाट्य कला परिषद्, राम मन्दिरकै ४ धुर जग्गामा गणेश युवा कमिटी र सार्वजनिक धर्मशालाको नाममा ४ कट्ठा ९ धुर जग्गा अतिक्रमण गरेको गुठी संस्थानले जनाएको छ । व्यक्ति र संघसंस्थाले दोस्रो बढी जग्गा रत्नसागर मन्दिरको अतिक्रमण गरेका छन् ।

गुठी संस्थानका अनुसार रत्नसागर मन्दिरको ८ ठाउँको जग्गा अतिक्रमणमा परेको छ । जनकपुर–८ स्थित मध्यमासर पोखरीको ११ कट्ठा ५ धुरमा ३३ घर, रत्नसागर पोखरीको ११ कट्ठा ५ धुरमै ३३ घर, कपालकोचनी पोखरीको ५ कट्ठा ८ धुरको डिलमा १९ घर बसेको छ । रत्नसागर मन्दिरको जनकपुर–८ स्थित ४ वटा कित्ता नम्बरको ६ बिघा २ कट्ठा ८ धुर जग्गा अतिक्रमणमा परेको गुठी संस्थानसँग तथ्यांक रहे पनि कसले अतिक्रमण गरेको त्यो खुलाइएको छैन । रत्नसागर मन्दिरकै ४ धुर जग्गामा पिराडी चोक युवा क्लबले भवन बनाएको छ ।

यस्तै, जानकी मन्दिरको ७ ठाउँको १७ कट्ठा १४ धुर जग्गा अतिक्रमणमा परेको छ । जनकपुर–८ पिराडी चोकस्थित गोडधाई पोखरीको ८ धुरमा ४ घर, जनकपुर–८ अरगजा पोखरीको डिलको २ कट्ठा १५ धुरमा ३ घर, दशरथ तलाउपूर्वको ६ कट्ठा ११ धुरमा ६६ घर, तेलहामरहा पोखरी डिलको ५ कट्ठा १५ धुरमा २७ घर र मराहा पोखरीको २ कट्ठा ५ धुर जग्गा अतिक्रमण गरेर २२ घर बसेको छ । जानकी मन्दिरको जग्गामा जनक युवा क्लबले घर बनाएर भाडामा लगाएको र बेंगाशिवपुरको जग्गा पनि अतिक्रमणमा परेको गुठी संस्थानले जनाएको छ । अतिक्रमणमा परेको जानकी मन्दिरको जग्गा सहरको मध्यभागको महँगो मूल्य पर्ने क्षेत्र हो । कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button