किसानलाई अनुदानमा ट्रयाक्टर उपलब्ध गराईयो



प्रदेश संबाददाता
कार्तिक ३
भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय प्रदेश कार्यालय २ ले व्यवसायिक किसानलाई ५० प्रतिशत सम्म अनुदान स्वरुप ट्रयाक्टर उपलब्ध गराएको छ । कृषिको आधुनिकीकरणमा सघाउने उद्देश्यले अनुदान सहुलियतमा १ सय वटा ट्रयाक्टर वितरण गरिसकेको भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।


‘ट्रयाक्टरले प्रतिघण्टा एक रोपनी खेतबारी जोत्न सकिन्छ,’ उनले भने, ‘समय र श्रम दुबैको बचत हुन्छ । किसानको मागअनुसार नै यो योजना अघि बढाएका हौं ।’ किसानहरूले पनि खेतीकालागी ट्रयाक्टर उपयोगी रहेको बताएका छन ।

‘एक रोपनी खेत जोत्न हलगोरु लाउँदा पूरै दिन भरी लाग्छ, ट्रयाक्टरले एक घण्टाले जोतेपछि चाँडो र सजिलो हुने भयो,’कमला नगरपालिका–१ का एक किसानले भने, ‘समय बचत हुँदा अरू काम गर्न भ्याइन्छ ।’

पछिल्लो समय गाउँघरमा खेताला र हलगोरुहरु पाउन पनि असहज हुन थालेको समयमा ट्रयाक्टरले खेती गर्न मद्दत पुग्ने उनले बताए । ‘हलोजुवा बोक्ने मान्छे पाउन ज्यादै कठिनछ , जमाना पनि बदलियो । मान्छे भनेको बखतमा पाईदैन उनले भने, ‘गोरु पाल्न पनि झन्झटीलो छ । घाँसपात गर्नुर्पयो, जमानाअनुसार ट्रयाक्टर नै ठीक हुन्छ ।’
‘वास्तविक किसानलाई ट्रयाक्टर दिएका हौं । अझै कोही छुटेकोभए थपी दिन्छौं,’ मन्त्री साहले भने । खेतीयोग्य जग्गा बाँझो रहन नदिन किसानलाई प्रोत्साहन गरिएको उनको भनाई छ  ।

हालको बजार मूल्य १३ लाख पर्ने ट्रयाक्टर किसानलाई ५० प्रतिशत अनुदानमा ४ लाख ९४ हजार रुपैयाँमा दिइएको छ ।

व्यवसायिक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सप्तरीमा २० जना,रौतहटमा १८ जना,धनुषामा १२ जना र अन्य जिल्लाहरु महोत्तरी,सिरहा,सर्लाही,बारा र पर्साका १० ,१० जना किसानलाई ट्रयाक्टर वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button